धनकुटा, २१ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै तीन दिनदेखि जारीे अनिश्चितकालिन आमहड्तालका कारण धनकुटाको जनजीवन अस्तब्यस्त बन्दै गएको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प हुँदा जनजीवन अस्तब्यस्त बन्दै गएको हो ।
धनकुटाको आमहड्तालका कारण पूर्वी पहाडी चार जिल्लाको जनजीवन प्रभावित बनेको छ । पूर्वी पहाडी जिल्ला जोड्ने कोशी राजमार्गमा यातायात ठप्प बनाईएकाले भोजपुर, तेह्रथुम र संखुवासभाको जनजीवन पनि प्रभावित बनेको हो ।
पूर्वी पहाडी जिल्ला आउँने यात्रुहरु सुनसरीमा रोकिएका छन् । धनकुटा आईपुगेका यात्रुहरुपनि गन्तब्यमा जाँन नसक्दा बिचल्लीमा परेका छन् । बन्दकर्ताले सडकमा प्रदर्शन गर्दै मोटरसाईकलसमेत गुड्न दिएका छैनन् ।

एम्वुलेन्स, प्रेस लगायत आकस्मिक प्रयोजनका बाहेक कुनैपनि सवारी साधन सञ्चालन हुँन नसक्दा सर्वसाधरणको बिचल्ली भएको छ । सयौंको संख्यामा निश्किएका बन्दकर्ताले धनकुटा बजार, हिले, सिधुवा, पाख्रीवास, मुलघाट, जीतपुर लगायत स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रहरीको सुरक्षा घेरा तोड्दै हिजो क्षेत्रीय प्रशासन कार्यालयमा पनि तालाबन्दी गरिएको छ । आन्दोलनकारी आक्रामक बन्दै गएपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।
प्रादेशिक राजधानी माग गर्दै २२ दिनदेखि प्रदर्शन भईरहेको धनकुटामा माग पुरा नभएसम्म आमहड्ताल जारी राख्ने आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिएका छन् ।