धनकुटा, २० पुस । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आज महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा पनि टायर बालेर प्रदर्शन गरिएको छ । जीतपुरबासीले प्रदर्शन गर्दै धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गरेका हुन् ।
‘धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणा गर, धनकुटेलीको आन्दोलनमा समर्थन छ, पहाड बचाउ अभियानमा संलग्ना हौं’ लगायत नारा लगाउँदै बजारमा प्रदर्शन गरिएको थियो । स्थानीयबासीसँगै नगरपालिकाका मेयर पर्शुराम नेपाल पनि आन्दोलनमा ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा उत्रिएका थिए ।

बन्दमा ऐक्यबद्धता जनाउँदै जीतपुर बजार पनि दिनभर बन्द गरिएको स्थानीय बालकृष्ण बराईलीले संगालोखबरलाई जानकारी दिएका छन् । प्रादेशिक राजधानी घोषणाको माग गर्दै धनकुटामा बुधबारदेखि अनिश्चितकालिन आमहड्ताल आवहन गरिएको छ । धनकुटाका बिभिन्न स्थानसहित काठमाण्डौंमा पनि धनकुटेलीको आन्दोलन जारीे छ ।
प्रशासनीक गौडा हुँदै पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत भईसकेको धनकुटामा पर्याप्त भौतिक पुर्वाधार, १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ ।
जीतपुरको प्रदर्शन र बन्दका तस्वीरहरु हेर्नुहोस्…








तस्वीरहरु : बिसु ढकाल















