काठमाडौं, १८  पुष – भारतीय र चिनियाँ फिल्मको कथ्य चरित्रमाथि बहस चलाउँदै नेपाली फिल्मको कथ्य खोज्न आगामी माघ १९ गतेदेखि पोखरामा चार दिने ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)’ आयोजना हुने भएको छ । स्वदेशी तथा विदेशी छोटा र फिचर फिल्मको प्रदर्शनसँगै फिल्मका १० विषयमा बहस चल्ने फेस्टिभलमा ३० भन्दा बढी देशका फिल्मको सहभागिता हुनेछ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको महोत्सवमा नेपालबाट प्रकाश आङदेम्बेको ‘देश खोज्दै जाँदा’, साम्तेन भुटियाको ‘तान्द्रो’ र बासुदेव पोखरेलको ‘प्रतिबद्धता’ फिचर फिल्म अन्तर्गत प्रदर्शन हुनेछन् । फेस्टिभलमा नेपालका १३ सर्ट फिल्म देखाइनेछ ।

‘हामी यो फेस्टिभलबाट हामीले बनाउने हरेक फिल्मको महत्व छ र यो काममा हामी जिम्मेवार हुनुपर्छ भन्ने सन्देश दिन चाहन्छौं,’ फेस्टिभलबारे जानकारी दिन सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष केपी पाठकले भने, ‘तर, यो जिम्मेवारी व्यक्तिगतभन्दा पनि संस्थागत हुनुपर्छ र उसको सिर्जनाको प्रभाव मानव सभ्यता माथि नै हुन्छ भन्ने कुरा फेस्टिभलमार्फत देखाउन चाहन्छौं ।’

फेस्टिभल निर्देशक मनोज पण्डितले कुन भूगोलमा कस्तो फिल्म बनिरहेको छ भन्ने थाहा पाउन पनि फेस्टिभल महŒवपूर्ण थलो बन्ने दाबी गरे । ‘नेपाल भन्ने शब्दले नेरेटिभ बाटो बुझ्छ । त्यसकारण विदेशी फिल्मकर्मीका लागि नेपाल पनि कथाको थलो हो भन्ने बुझाउन फेस्टिभलले भूमिका खेल्नेछ,’ पण्डितले भने, ‘राजनीतिले फिल्ममा के अर्थ राख्छ भन्ने चर्चा पनि फेस्टिभलमा हामी गर्नेछौं ।’

पोखरा उद्योग वाणिज्य संघको हलमा हुने फेस्टिभलमा १३ फिचर फिल्म, ४० सर्ट फिल्म र १० विषयमा अन्तरक्रिया हुनेछ । पहिलो संस्करणको यो फेस्टिभलमा नेपालसहित थाइल्यान्ड, इराक, अमेरिका, बंगलादेश, जर्मनी, इरान, चिली, सिरिया, सिंगापुर, ताइवान, मलेसिया, फ्रान्स, भारत, रसिया, ग्रीस, चीन, बस्कोर्तोस्थान, चेक रिपब्लिक, ब्राजिल, इटली, श्रीलंका, अष्ट्रेलिया, अफगानिस्तान, फिलिपिन्स, जर्जिया, कार्जाकस्तान र स्वीटजरल्याण्डका फिल्म देखाइनेछन् ।

फेस्टिभलको जुरीमा नेपालका मीनबहादुर भामसहित भारतका अशोक राने, कतारका खालिल बेनिक्रेन, श्रीलंकाका भिमुख्ती जयसुन्दरा, जापानका सोजो इच्छियामा र चीनका पेङ झिआओलियन छन् । फेस्टिभलको फिल्म छनोट समितिमा मनोज पण्डित, सचिन घिमिरे, विजयरत्न तुलाधर, करुण थापा र तीर्थ श्रेष्ठ छन् ।

फेस्टिभलको अन्तिम दिन ‘उत्कृष्ट फिल्म’, ‘उत्कृष्ट नेपाल पानोरामा’, ‘उत्कृष्ट सर्ट फिल्म’ र ‘उत्कृष्ट जुरी अवार्ड’ प्रदान गरिनेछ । यी अवार्डको राशि क्रमशः १ लाख, ५० हजार र २५ हजार रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!