उदयपुर, १० पुस । सुनकोसी नदीमा पक्की पुल नबनेपछि चौथो पटक बेलिब्रिज लगाइएको छ। उदयपुर र खोटाङको सीमास्थल रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका लिच्की राम्चेबीचको फोक्सिन्टारस्थित सुनकोसीमा बेलिब्रिच जडान गरिएको हो। सगरमाथा लोकमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडक खण्डको सुनकोसी नदीको फोक्सिनटार गएको चार वर्ष अघिदेखि बर्सेनि बेलिब्रिज जडान हुँदै आएको छ।

Advertisement

पुस महिनामा जडान हुने र जेठ महिना नलाग्दै झिक्ने बेलिब्रिज जडान गरेर यस वर्ष पनि गाईघाट दिक्तेल सिधा यातयात सुरु गरिएको हिमाली यातयात व्यवसायी बताएको छ। ‘पुस लाग्दै बेलिब्रिज लगाइन्छ,’ हिमाली यातायात बस व्यवसायी संघ उदयपुरका महासचिव भक्ति मैनालीले भने, ‘गाईघाट दिक्तेल सडक जोडिएको वर्षौँ भयो पुल बनेको छैन।’

करिब ७५ लाखको लागतमा सगरमाथा कन्ट्रक्सनले बेलिब्रिज यस वर्ष जडान गरेको कन्ट्रकन्सका प्रोपाइटर प्रेम कार्कीले बताए। ‘बर्सेनि बेलिब्रज लगाउने खर्च त बढिहाल्छ नि, उनले भने, ‘गएको वर्षको जडान गरेको लागतमा यस वर्ष जडान सकिँदैन।’ बर्सेनि पुलको विकल्पमा जडान हुने बेलिब्रिजको लागत पनि बढिरहेको छ।

सुनकोसी नदीमा ५० मिटर लम्बाइ र २५ टन क्षमता भएको बेलिब्रिज लगाइएको छ। यसरी लगाइएको बेलिब्रिज पुस महिनामा लगाइन्छ भने जेठ १५ मा झिकिसक्नु पर्दछ।

पुसदेखि जेठसम्म सिधा यातयात सञ्चालन भए पनि जेठदेखि पुन पुससम्म ठप्प हुन्छ। पुलको डिजाइनै फेल उदयपुर र खोटाङ जोड्ने सुनकोसी नदीको फोक्सिनटारमा निर्माण कार्य थालिएको पाँच वर्षसम्म ज्यूँका त्यूँ छ।

निर्माण कार्य थालिएको पाँच वर्षसम्म ठेकेदार र कर्मचारीको चरम लापबाहीको कारण पुल नबनेको सरोकारवालाको दाबी छ। हिउँदमा बेलिब्रिज पुल सञ्चालन सिधा यातायात सञ्चालन भए पनि वर्खाको वेला  ठप्प नै हुने गर्दछ। पुल निर्माणको लागि ठेकेदारले समेत डिजाइनमा समस्या देखाएको कारण पुल बन्न नसकेको पुलको जिम्मा पाएका पुल योजना पूर्वी सेक्टर कार्यालय धरान सुनसरीका इन्जिनियर विजय दराईले जानकारी दिए। ‘ठेकेदार कम्पनी र कर्मचारीले बेवास्ता गरेको होइन,’ इन्जिनियर दराईले भने, ‘अहिले ०७४ असार मसान्तभित्र सक्ने गरी ठेक्का लागेको थियो तर, पुरानो डिजाइनले काम गरेन।

इन्जिनियर दराईका अनुसार ०७० को पहिलो महिनाको पहिलो हप्तामै पुलको ठेक्का लागेको थियो। तर, ०६९ मा गरिएको डिजाइनै फेल भएपछि पुलको नयाँ डिजाइन गर्न झन्डै ४ वर्ष लागेको छ। ‘सुरुमा म थिइनँ, पुन दराईले भने, ‘अहिले नयाँ डिजाइन भनेको आर्कीब्रिज पुल बनाउने तयारी गरेका छाँै।’

आगामी ०७७ असार अन्तिममा सक्ने गरी तयारी थालेको पुल योजना पूर्वी सेक्टर कार्यालय धरानले जानकारी दिएको छ। कार्यालयका अनुसार राष्ट्रिय योजना आयोगको १६ करोडको आर्थिक लागतमा पुल बन्ने भएको छ।

पुल बनाउनको लागि गौरा, पार्वती जेभी प्रालि काठमाडौंले जिम्मा पाएको छ। पुरानो डिजाइनमा पुल निर्माण गर्न पुगेको निर्माण कम्पनीले पिलर गाड्नका लागि खाल्डा खन्ने कार्य सुरु गरेर रोकिएको हो।

सडक बनेको २३ वर्ष भयो पुल बनेन ०५१ मा तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले शिलन्यास गरेर निर्माण कार्य सुरु गरेको गाईघाट–दिक्तेल सडक परियोजनाले गाईघाट दिक्तेल सडक निर्माण गरिसकेको २३ वर्ष भयो।

सडक सञ्चालन भएको २३ वर्ष पुग्दा पनि गाईघाट दिक्तेल सिधा यातयात सुरु भएको छैन। हिउँदमा सिधा यातयातको लागि बेलिब्रिज जडान गरिन्छ। वर्खामा पूर्ण रुपमा बन्द हुन्छ।

वर्खामा सुनकोसीमा पानीको वहाव बढेसँगै बन्द हुने र हिउँदमा पानीको वहाव घटेसँगै सञ्चालन हुने रोग नहटेको यातयात व्यवसायीको गुनासो छ। पुल नभएकै कारण खोटामा विभिन्न उपभोग्य बस्तु समेत चर्को मूल्यमा ढुवानी हुने गरेको व्यापारीहरुको भनाइ छ।

पूर्व खोटाङको लागि सम्पूर्ण उपभोग्यवस्तुहरु उदयपुरको गाईघाटबाट मात्र ढुवानी हुने गर्दछ। स्थानीयको नजरमा सरकारी कर्मचारी र ठेकेदार दोषी पुल निर्माण थालेको पाँच वर्षसम्म नबन्नुमा सरकारी कर्मचारी र ठेकेदार दोषी भएको अरोप सर्वसाधरणले लगाएका छन्।

पाँच वर्ष अघि ती वर्षभित्र निर्माण हुन्छ भनेको पुल अहिलेसम्म नबन्नुमा दोषी सरकारी कर्मचारी ठेकेदारको भएको स्थानीय रामकुमार राईले आरोप लगाए।

‘सरकारी पक्ष भन्छ, पुलको डिजाईन फेल भयो,’ उनले भने, ‘ठेकेदार भन्छ, सरकारी कर्मचारीले पुलको डिजाईन पहिला गलत दियो, अहिले दिएकै छैन।’

पक्की पुला नहुँदा पूर्वी तराईका जिल्ला सप्तरी, सिराहा आउन सिद्धिचरण लोकमार्ग हुँदै कटारी–घुर्मी–जयरामघाटको बाटो पर्कनु पर्छ। ‘हिउँदमा मात्र सिधै घाईघाट पुगिने हो,’

फोक्सिनटारका नारायण परियारले भने, ‘बेलिब्रिज झिकेपछि सिधा यातयात सवै ठप्प हुन्छ।’ खोटाङ उदयपुरका राजनीतिक दलले दुई चुनावमा फोक्सिनटार पुललाई चुनावी नारा बनाए।

‘सम्पन्न प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा पनि पुल बनाउन पहल गर्ने भाषण गरे,’ स्थानीय रामकुमार राउतले भने, ‘चुनाव जितेको नेतासमेत हराए।’ दुवै जिल्लामा पर्ने गाँउपालिका र प्रतिनिधिसभा तथा प्रदेशसभाका निर्वाचित संसदलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन। प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ उदयपुरमा सुरेशकुमार राई हिमाल छन भने खोटाङतर्फ विशालकुमार भट्टराई छन। दुवै प्रतिनिधिसभा सदस्यलाई सम्पर्क हुन सकेन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!