संगालोखबर सम्वाददाता

धनकुटा, ७ पुस । बार र बेन्चबीचको सहकार्यबाट मात्रै न्यायिक क्षेत्र सक्षम हुने धनकुटामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ६१ औं बार दिवसको अवसरमा सुक्रवार जिल्ला बार एशोसिएनले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

उच्च अदालत विराटनगर धनकुटा इजलाशका मुख्य न्यायाधिश विनोद शर्माले न्याय खर्चिलो तथा ढिलासुस्ती मुक्त गर्न र अपेक्षित न्याय नपाउने सर्वसाधारणको गुनासोबाट मुक्त हुन बार र बेन्च दुवैको सहकार्य हुन जरुरी रहेको बताए । शर्माले भने, ‘अदालतलाई सवल बनाउन बार र बेन्चको सहकार्य जरुरी छ ।’ जनमानसमा न्याय निरुपणको विश्वास दिलाउन आफु सदैव गम्भीर हुने उनले बताए ।

Advertisement

कार्यक्रममा जिल्ला न्यायाधिश विनोदकुमार पोखरेलले बार मानव अधिकारको खम्बा रहेको भन्दै नागरिकले राखेको अपेक्षा अनुसार बार र बेन्च दुवै क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिए । यसैगरी उच्च अदालत विराटनगर इलाम इजलाशका न्यायधिश तेजनारायणसिं राईले बार सक्षम भए बेञ्च पनि सक्षम हुने तर्क राखे ।

बार दिवसको अवसरमा धनकुटामा आयोजित कार्यक्रम । तस्वीर: संगालोखबर

वरिष्ट अधिवक्ता नगेन्द्रभक्त श्रेष्ठ, जिल्ला वारका अध्यक्ष आनन्दसन्तोषी राई, अधिवक्ता तथा पुर्व सांसद दुर्गा लिंखा, वारका सचिव लाखमान राई लगायतले पनि सेवाग्राहिको हितमा कानुन व्यवशायी जुट्नु पर्ने बताए ।

धनकुटा नगरपालिकाका उप–मेयर तथा नगरको न्यायिक समितिका प्रमुख शकुन्तला बस्नेतले न्यायिक उपचारका लागि कति खर्च लाग्ने भन्ने अन्दाज गर्न नसक्दा सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो पोखिन् । न्यायलाई पैसासंग जोखिने अवस्थाबाट मुक्त नहुन्जेल समाज रुपान्तरणको अवस्था आउन गाह्रो रहेको उनले बताइन् ।

वरिष्ट अधिवक्ता सम्मानित

हालै वरिष्ट अधिवक्तामा बढुवा भएका प्रा.डा.गोपालबहादुर भट्टराईलाई शुक्रवार धनकुटामा सम्मान गरिएको छ । जिल्ला बार एशोसिएन धनकुटाले भट्टराईलाई सम्मान गरेको हो ।

जिल्ला बारका अध्यक्ष आनन्दसन्तोषी राई तथा विराटनगर उच्च अदालत धनकुटा इजलाशका मुख्य न्यायाधिश विनोद शर्मा, जिल्ला अदालतका न्यायाधिश विनोदकुमार पोखरेल लगायतले फुलमाला र नेपाली टोपी लगाईदिएर उनलाई सम्मान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!