- देवकला कार्की/संगालोखबर

धनकुटा, ६ पुस । धनकुटामा विगत एक वर्षको अवधिमा ३८ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) धनकुटाले बिहीबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो ।

मानव अधिकार बर्ष पुस्तक २०१८ का लागि तयार पारिएको बार्षिक प्रतिवेदन पूर्व समिक्षा कार्यक्रममा दिएको जानकारी अनुसार एक वर्षको अवधिमा जिल्लामा अधिकांस घटना गैर राज्य पक्षबाट भएका छन् । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनामा केहि कमि आएको छ ।

Advertisement

गतवर्ष जिल्लामा ५२ वटा घटना भएको ईन्सेक जिल्ला प्रतिनिधि सन्तोष रुचालले जानकारी दिए । रुचालले सन् २०१७ को जनवरी देखि डिसेम्बर महिनाको १५ तारिख अर्थात वि.सं.२०७३ पुस देखि २०७४ मंसिर मसान्तसम्ममा जिल्लामा भएका मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

जिल्लामा गैर राज्यपक्षबाट २ जनाको हत्या भएको प्रतिवेदनमा उल्लेख छ । यसैगरि १ बालिका बलात्कार, २ वहुविवाह र ३३ जना महिला घरेलु हिंसाबाट पीडित भएका छन् ।

नेकपा, संघीय गठबन्धन तथा राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषदले गरेको आमहड्तालका कारण नारिककले सास्ती खेप्नु परेको जनाईएको छ । कार्यक्रमका धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले मानव अधिकार उल्लंघनका घटना न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा एमाले सचिव सुरेन्द्र पौडेल, कांग्रेस सचिव विजयसन्तोषी राई, माओवादी केन्द्रका सचिवालय सदस्य तिलकप्रसाद राई, शसस्त्र प्रहरीवल छिन्ताङ्ग गुल्मका गुल्मपति रमेशविक्रम शाही, नागरिक समाजका अध्यक्ष द्रोणप्रसाद गुरागाई, गैर सरकारी संस्था महासंघका अध्यक्ष सोविस चेम्जोङ्ग, महिला तथा वालवालिका कार्यालयका प्रमुख मञ्जु लोहनी, पारालिगल सहयोग समितिका अध्यक्ष कोपिला शंकर लगायतले सुझावसहित मन्तव्य राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!