धनकुटा, ५ पुस । धनकुटाको चौविसे गाउँपालिका–७ मौनावुधुकको वुधुक माध्यमिक बिद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सीसी क्यामेरा जडान गरिएको छ । अध्ययन, अध्यापनलाई निगरानी गरि शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयले प्रत्येक कक्षा कोठामा सीसी क्यामेरा जडान गरेको हो ।
एक लाख ९५ हजारको लागतमा १६ वटा सीसी क्यामेरा जडान गरिएको विद्यालयका शिक्षक पुर्ण कुमार योङहाङ्गले बताए । विद्यालयमा सीसी क्यामेरासहित फिङ्गर हाजिरी मेसिन, विद्युतिय घण्टी लगायतसमेत जडान गरिएको छ ।
विद्यालयमा सीसी क्यामेरा जडान गर्न स्थानीय २६ जनाले प्रतिब्यक्ति ३ हजारका दरले ७८ हजार सहयोग गरेको शिक्षक एवं स्थानीय सञ्चारकर्मी जितेन्द्र कोईरालाले जानकारी दिए ।

यस्तैगरि सुन्तला दान विद्यार्थीबाट ११ हजार, अन्य श्रोतवाट ९ हजार २ सय ३५ र विद्यालयको २५ हजार रहेको छ ।
केही रकम अपुग भएकाले पुरा गर्न सहयोगी दातासँग अपेक्षा राखिएको शिक्षक योङहाङ्गले वताएका छन् । फिङ्गर हाजिरी मेसिन खरिद गर्न स्थानीय टुपेन्द्र चेम्जोङ्गले सहयोग गरेका छन भने विद्यृतिय घण्टी, डोर लक कि विजय लावतीले सहयोग गरेका हुन ।
क्यामेरासहितका उपकरण जडानका लागी ईन्जिनयर विजय लावती, लक्ष्मीप्रसाद लिम्बु, दुर्गाप्रसाद चेम्जोङ्ग र पर्शु विश्वकर्माले प्राविधिक सहयोग गरेका थिए । कक्षा १२ सम्म पढाई हुँने वुधुक माविमा ४ सय ३१ जना विद्यार्थी अध्ययनरत छन् ।















