काठमाडौं । गत वर्षको भदौ ६ गते कैलालीको टीकापुरमा आन्दोलनका क्रममा एक एसएसपीसहित ८ सुरक्षाकर्मीको ज्यान गयो । थरुहट र मधेसी मोर्चाको आन्दोलनका क्रममा सुरक्षा निकायसँग भएको झडपका क्रममा आन्दोलनकारीतर्फ कमै क्षति भए पनि नेपाल प्रहरीले ठूलो क्षति व्यहोर्नु पर्‍यो ।

Advertisement

टीकापुर घटनाको छानविनका क्रममा सशस्त्र प्रहरी बललाई दोषी देखाइएको थियो । छानविन समितिहरुले तयार पारेको रिपोर्टमा सशस्त्र प्रहरी बलले समयमै गोली नचलाउँदा नेपाल प्रहरीले क्षति व्यहोर्नु परेको देखाइएको थियो ।

आन्दोलन नियन्त्रणका लागि उत्रिएको नेपाल प्रहरी आन्दोलनकारीको घेरामा परिसक्दा समेत माथिको आदेश छैन भन्दै सशस्त्र प्रहरी बलले गोली नचलाउँदा एसएसपीसहित ८ सुरक्षाकर्मीको ज्यान गएको प्रहरीकोे रिपोर्टमा उल्लेख छ ।

त्यसबेलाको घटनासम्बन्धी छानविन समितिले तयार पारेको रिपोर्टमा समेत सशस्त्रलाई दोषी देखाइए पनि अहिलेसम्म कसैलाई कार्वाही भएन ।

टीकापुर घटनापछि तराईका जिल्लाहरुमा सुरक्षाकर्मीको गोली लागेर ५० भन्दा बढी आन्दोलनकारीको ज्यान गयो ।

टीकापुरको ठीक उल्टो भयो सप्तरीमा

टीकापुर घटना भएको डेढ वर्षपछि सप्तरीमा सोमबार अर्को दंगा भयो । तर, यी दुई घटनाको प्रकृति भने ठीक उल्टो देखिएको छ ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरीवीच समन्वय नहुँदा र बेलैमा गोली नचलाउँदा टीकापुर घटना भएको भन्दै यसवीचमा प्रधानसेनापतिको पहलमा संयुक्त अभ्यासहरु पनि सुरु भएका थिए । प्रधानसेनापतिको पहलमा भएका दुई सुरक्षा संगठनका भिड नियन्त्रण सम्बन्धी संयुक्त अभ्यासहरु प्रहरी हेडक्वाटरदेखि तराईका क्षेत्रहरुमा समेत चलाइएको थियो ।

तर, सोमबार सप्तरीमा टीकापुरको भन्दा ठीक उल्टो घटना भयो । प्रहरीले लिएको भीड नियन्त्रण सम्बन्धी तालिम पनि काम लागेन ।

टीकापुरमा सशस्त्रले साथ नदिँदा र गोली नचलाउँदा प्रहरी मारिएको रिपोर्ट तयार भयो भने सप्तरीमा सशस्त्रले गोली चलाएका कारण यस्तो भयो भनिएको छ । एउटै आन्दोलनमा खटिएको सुरक्षा संगठनका वीचमा पटक-पटकको संयुक्त अभ्यासले पनि किन तालमेल मिलाउन सकने त ? समीक्षा गर्नुपर्ने देखिएको छ ।

पूर्वडीआइजीको अनुभवः प्रहरीको मुभ नै गलत छ

डेढ वर्ष अघि नै अखण्ड मध्यपश्चिम आन्दोलनको सामना गरेका पूर्वडीआइजी केशव अधिकारी आन्दोलनमा पार्टीका कार्यकर्ता मात्रै हुन्छन् भनेर बुझ्न नहुने बताउँछन् ।

कतिपय समूह आन्दोलनका बहानामा हिंसा भडकाउन पनि सहभागी हुन सक्ने र त्यसैले परिस्थित बिगार्ने गरेको अधिकारी बताउँछन् । उनको बुझाइमा फिल्डमा खटिएका सुरक्षाकर्मीहरुको कमाण्डर भिड नियन्त्रणमा अनुभवी छैन र उनीहरुको तालिम पनि त्यो अनुसारको छैन, जसले गर्दा आन्दोलनकारी र सुरक्षाकर्मी दुवैले क्षति व्यहोर्नु पर्ने स्थिति आउने गरेको हो ।

‘त्यसो त आन्दोलनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको परिचालन नै सही तरिकाले हुँदैन, सुर्खेतमा मैले भोगेको छु, हाम्रा सुरक्षाकर्मीहरु आन्दोलनकारीजस्तै भिड लागेर बनेर परिचालित हुन्छन्’ अधिकारी भन्छन्- ‘त्यो नै गलत छ । आन्दोलनकारी र सुरक्षाकर्मीको परिचालन एउटै शैलीमा गर्न हुँदैन । सुरक्षाकर्मीहरु मुभ गर्ने शैली रणनीतिक हुन सकेन भने त्यसले बढी क्षति गराउने हो, सप्तरीको भिडियो हेर्दा त्यस्तै भएको देखिन्छ ।’

आन्दोलनका क्रममा परिस्थितिको आँकलन स्थानीय प्रशासन मात्रै गर्न सक्ने भएकाले प्रधानमन्त्री र गृहमन्त्रीले मैले आदेश दिएको थिइनँ भन्नुको कुनै अर्थ नरहने पनि उनको बुझाइ छ । ‘घटनाले कस्तो रुप लिइरहेको छ भन्ने काठमाडौंमा बस्नेले कसरी अनुमान गर्न सक्छ ?’ पूर्वडीआइजी भन्छन्- ‘त्यसैले त स्थानीय प्रशासन ऐनले गोली हान्न आदेश दिने अधिकार सीडीओलाई दिएको छ, तर त्यसमा सुरक्षाकर्मीको कमाण्डरले कम क्षती गराउने गरी कार्वाही चलाउनुपर्छ ।’

कतिपय अवस्थामा फिल्डमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका कमाण्डरवीचको समन्वयको अभावले पनि दुर्घटना निम्तिने गरेको उनी बताउँछन् ।

‘प्रहरीसँग भीड नियन्त्रण गर्ने सामाग्री नै छैनन्’

त्यसैगरी नेपाल प्रहरी एक पूर्वआइजीपीको बुझाइमा नेपालका सुरक्षा संगठनहरुसँग भिड नियन्त्रण गर्ने सामाग्रीहरु नै छैनन् । उनका अनुसार आन्दोलनमा जाँदा सशस्त्र प्रहरी होस या नेपाल प्रहरी, दुबैले लाठी, अश्रुग्याँस र हतियार लिएर गएका हुन्छन् । तर, त्यतिले मात्रै भीड नियन्त्रण गर्न सकिने आन्दोलन निकै कमजोर खालको मात्रै हुन्छ ।

नेपाल प्रहरीसँग भिडमा पानीको फोहोरा हान्ने भेइकल काठमाडौंमा मात्रै छ । उपत्यका बाहिर त्यस्ता कुनै पनि साधनहरु छैनन् ।

नाम उल्लेख गर्न अस्वीकार गर्दै ती पूर्वआईजीपी भन्छन् ‘हाम्रा सुरक्षाकर्मीहरु सुरुमा लाठीले रोक्ने प्रयास गर्छन्, त्यतिले नभए अश्रुग्याँस हान्छन् । जब त्यस पनि थेग्दैन, त्यसपछि उनीहरुसँग गोली हान्नुको विकल्प केही पनि हुँदैन, जसले गर्दा मानवीय क्षति हुन्छ ।’

उनी थप्छन्- कम क्षति हुन त सरकारले त्यही अनुसार सामाग्री दिनुपर्‍यो नि ।

प्रहरी अधिकारीका अनुसार भीड नियन्त्रण गर्दा कम क्षती हुने कैयौं सामाग्रीहरु छन् । सरकारले प्रहरीलाई ती सामानहरु केही पनि नदिने, अनि सडकमा उत्रिएको सुरक्षा निकायले गोली चलायो भन्नु न्यायसंगत छैन । प्रहरीले आफ्नो र अरुको सुरक्षाका लागि जे साधन उपलब्ध छ, त्यही प्रयोग गर्न बाध्य हुने गरेको छ ।

गोली चलाउने आदेश कसले दिन्छ ?

सप्तरीको घटनामा सशस्त्र र नेपाल प्रहरी कसले गोली चलाएको थियो भन्ने रिपोर्ट आइसकेको छैन । तर, नेपाल प्रहरीकै अर्का एक आइजी गोली चलाउने कि नलचाउने भन्ने आदेश दिने अधिकार जिल्ला प्रशासनसँगै हुने बताउँछन् ।

उनी भन्छन्- ‘स्थानीय प्रशासन ऐनले गोली चलाउने आदेश दिने अधिकार सीडीओलाई दिएको छ, फिल्डबाट आएको रिपोर्ट अनुसार उसले दिएको आदेश अनुसार सुरक्षाकर्मीहरुले गोली चलाउने हो । सप्तरीमा के परिस्थिति भयो र गोली चलाउनुपर्‍यो, त्यो अनुसन्धान रिपोर्टले मात्रै देखाउन सक्छ ।’ अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!