काठमाडौं, १ पुस । टेलिभिजनमा हाँस्य टेलिफिल्म ‘मेरी बास्सै’ हेर्ने दर्शकले सम्झिएकै हुनुपर्छ, साधारणभन्दा फरक अनुहार र हाउभाउ भएका एक पात्र थिए ‘इकु’। हेर्दा वनमान्छेजस्ता देखिन्थे।

Advertisement

यो पात्र मेरी बास्सैमा निकै हिट भयो, उनको खास नाम थियो सुलेमान शंकर। सुलेमान ‘इकु’लाई आफ्नो दोस्रो जन्म मान्छन्। हेटौंडामा जन्मिएका सुलेमान एसएलसी पास गरेपछि काठमाडौं आएका थिए।

‘विजनेसम्यान’ बन्ने सपना देेखेका उनले त्यही सपना साकार पार्ने योजना अनुसार पाटन क्याम्पसमा व्यवस्थापन संंकायमा भर्ना भए। तर अभिनयको भूतले उनको पढाइ अघि बढ्न सकेन।

क्याम्पसमा हुने कार्यक्रमहरुमा उनी सुलेमान हाँस्य प्रस्तुति दिइरहन्थे। क्याम्पसमा उनको प्रस्तुति निकै रुचाइन्थ्यो पनि। ‘हामी पाटन क्याम्पसमा धेरै कमेडी शोहरु गरिरहन्थ्यौं, स्कुलमा हुदा पनि कुनै कार्यक्रम छुटेन मेरो।

हरेक कार्यक्रममा म कमेडी गर्न रुचाउथें।’ उनको प्रस्तुति हेर्नेहरुले कलाकार बन्न प्रेरणा दिन्थे।आखिर भयो पनि त्यस्तै, उनी भन्छन्, ‘अहिले मलाई कलाकार भनेर चिन्छन्।’ उनको प्रस्तुति मन पराइनुको कारण उनको अनुहार र शारीरिक बनावट नै हो भन्ने पनि उनले थाहा पाए। ‘मलाइ देख्दा मान्छेहरुलाई अचम्म लाग्थ्यो रे, म अरु मान्छे जस्तो छैन। त्यो कुरालाई उहाँहरुले मन पराउनुहुन्थ्यो।’

पहिलो भेटमै टेलिफिल्मका लागि ‘ओके’ नेपाल टेलिभिजनको टेलिफिल्म ‘थोरै भए पुगिसरी’ ले कलाकार खोजी गर्दै थियो। साथीहरुको सल्लाहमा सुलेमान पनि अडिसन दिन गए।

सुलेमानलाई देखेर अडिसन लिनेहरु नै छक्क परे। उनी सम्झिन्छन् ‘मलाई देखेर उहाँहरु छक्क पर्नुभयो। अनि यो मान्छेलाई चाहिँ लिनुपर्छ है, भनेर अडिसन नै नलिइ ओके गर्नुभयो।’

उनले केही समय त्यही टेलिफिल्ममा अभिनय गरे। तर उनलाई लाग्यो ‘यहाँबाट दर्शकले चिनेनन्।’ उनलाई जसरी पनि धेरैतिर चिनिनु थियो, त्यसैले अर्को अवसरको खोजीमा लागे।  त्यसपछि सुलेमान पुगे हाँस्य टेलिफिल्म तितो सत्यमा। केही समय काम गर्दा पनि उनी दर्शकको नोटिसमा परेनन्।

उनले ‘५२ घुस्सा ५३ ठक्कर’ नामक टेलिफिल्ममा काम गर्न थाले। यसको स्क्रिप्ट सुलेमान आफैले लेखेका थिए। यसबाट पनि उनले सोचेजस्तो चर्चा पाएनन्।  मेरी बास्सैले जन्माइदियो ‘इकु’ हाँस्य टेलिफिल्ममा मेरी बास्सै निकै चर्चित थियो।

सुलेमानलाई मेरी बास्सैबाट अफर आयो, उनलाई जंगली मान्छेको भूमिका दिइयो। उनले घरमा ऐना अगाडि जंगली मान्छेको जस्तो अभिनय गर्न थाले। शारीरिक हाउभाउ पनि त्यस्तै बनाउन थाले।

अनि आफू अभिनय गर्ने पात्रको नाम राखे ‘इकु’।    पहिलो दिन सुलेमानलाई मेकअप गरेर इकु बनाइयो। इकु बनेर ऐना हेर्दा आफै तर्सिएको सुलेमान बताउँछन्। ‘मेकअप गरेर आफ्नो अनुहार हेरेको आफै तर्सिएँ। यस्तो बच्चाहरुले कसरी हेर्लान् भन्ने लागेको थियो मलाई’ उनले भने।

जंगली मान्छे बन्नुपर्ने अनि रुख रुखमा हाम फाल्नुपर्ने। चुनौती त थियो नै। सुटिङको पहिलो दिन नै घाइते भए उनी। ‘पहिलो दिनकै सुटिङमा रुखबाट हाम फाल्नुपर्ने सिन थियो। हाम फाल्न खोज्दा तल झरेर ढुंगाले मेरो खुट्टा नै काट्यो’ सुलेमानले सम्झिए।

जब सुलेमान अभिनित मेरी बास्सै प्रशारण हुन थाल्यो। उनको चर्चा एकाएक हुन थाल्यो। उनका फ्यान फलोअर्स बढ्न थाले र सुलेमानको दर्शकमाझ चिनिने सपना पूरा भयो।

मेरीबास्सैबाट पाएको सफलताले गर्दा उनले आफूलाई बलिउडको सलमान खानसँग दाँज्न थाले। ‘उता सलमान-यता सुलेमान, उता बडीवाला-यता हड्डीवाला।’  तर, समय सधैं एकनासको कहाँ रहन्छ र! दर्शकले उनलाई मेरी बास्सैमा धेरै समय हेर्न पाएनन्।

‘दर्शकले धेरै समय एकै प्रकारको भूमिका हेरिरहँदा मोनोटोनस हुनसक्छ भनेर मलाई मेरी बास्सैबाट निकालियो’, उनी भन्छन् ‘मलाई मेरीबास्सैमा ल्याउनुहुने धुर्मुस र माग्नेबुढाले नै मलाई निकाल्दिनुभयो।’ उनी भने आफू माग्ने बुढा र धुर्मुस भन्दा चर्चित भएकाले निकालिएको दाबी गर्छन्।

मेरी बास्सैसँग कटअप र इकु द जंगलम्यान  मेरी बास्सैबाट पाएको माया र फ्यान फलोअर्सको सपोर्टले इकु त्यतिकै बस्न सकेनन्। उनले आफ्नो छुट्टै टेलिफिल्म बनाउने सोच बनाए। तर त्यसबेला टेलिभिजनमा समय पाउन नै मुस्किल थियो। त्यसैले सुलेमानले फिल्म नै बनाउने सोचाइ बनाए, नाम राखे ‘इकु द जंगलम्यान’। फिल्म बनाउनको लागि उनीसँग पैसा थिएन। साथीबाट सापटी लिएर फिल्म बनाए।

‘इकु द जंगलम्यान’ रिलिज भयो। पैसा पनि कमायो। तर कमाएको पैसा इकुको हातमा धेरै परेन। साथीहरुको ऋण तिर्दा नै सकियो। तर फिल्मको सफलताले उनीमा अझै जोश बढ्यो। फेरि नयाँ फिल्म निर्माणमा लागे।

त्यसको नाम पनि इकुसँगै जोडेर राखे इकु- २। अघिल्लो फिल्मबाट कमाएको रकम सकिएको थियो। त्यसैले फेरि फिल्म बनाउने पैसा साथीहरुबाटै सापटी लिए। इकु- २ मा अनुमान गरेभन्दा धेरै खर्च भयो। ‘खासमा हामीले ४० लाखमा फिल्म बनाइसक्ने भनेर सुरु गरेका थियौं, तर फिल्मको लगानी ७५ लाख पुग्यो’ उनले भने।

फिल्ममा लगानी धेरै भए पनि सफल हुनेमा सुलेमान ढुक्क थिए। फिल्मको रिलिज मिति तय गरेर प्रचार प्रसारमा लागे। तर फिल्म रिलिज हुनुभन्दा केही समय अगाडिमात्र वितरकले सुलेमानलाई फिल्मको रिलिज डेट अगाडि सार्न भने। ‘हामीले तोकेको रिलिज डेटमा फिल्मले हल नपाउने भयो भनेर वितरकले रिलिज डेट अगाडि सार्न भन्नुभयो।

जसको सिधा असर फिल्मको व्यपारमा पर्‍यो, फिल्म फल्प भइदियो’ उनले सम्झिए।  इकु-२ पुर्‍यायो पुलिसचौकी  फिल्म असफल भएसँगै सुलेमानको जीवनमा धेरै उत्तरचढाव आए। पारिवारिक सम्बन्ध पनि बिग्रियो। फिल्म निर्माण गर्दा साथीहरुसँग लिएको सापटी पनि उनले फिर्ता गर्न सकेनन्।

साथीहरुले पैसाको लागि ताकेता गर्न थाले। ‘साथीहरुले दिनदिनै फोन र म्यासेज गर्थे’, उनी सम्झिन्छन् ‘साह्रै नराम्रो शब्दको प्रयोग गरी गाली गर्थे मलाई।’ कतिपयलाई अब कमाएर तिर्छु भनेर सम्झाउँथे। तर त्यसमा कसैले विश्वास गर्दैनथे। ‘मलाई पैसाकै कारण पुलिस चौकीमा समेत लगेका छन्, मेरा साथीहरुले’, सुलेमान भन्छन् ‘मार्ने धम्की त कति आए कति।’

फ्रस्टेटेड इकु समाजेवामा फिल्मको असफलता, साथीभाइबाट आएका गाली, यी कुराले एकदमै निराश बनिसकेका थिए सुलेमान। एक पटक त आत्महत्या गर्ने सोचाइसमेत आएको उनी बताउँछन्। तर आफूले अभिनय गरेको पात्र इकुलाई सम्झेर फर्किएर आए।

उनी भन्छन् ‘सुलेमानलाई कसैले मन नपराए पनि इकुलाई त पन पराउनुहुन्छ नि त। त्यसैले म बाँच्नुपर्छ भन्ने लाग्यो।’ इकुका फ्यान धेरैजसो बालबालिका नै छन्।

त्यसैले उनले बालबालिकाको लागि काम गर्ने सोचाइ बनाए। ‘मलाई बच्चाहरुले एकदमै मन पराउँथे’, इकु भन्छन् ‘त्यसैले बच्चाहरुसँग काम गर्ने मन भयो अनि बाल आश्रम खोलेँ।’ उनको आश्रममा भूकम्पबाट परिवार गुमाएका १२ जना बालबालिका छन्।

भाडामा लिएको घरमा आश्रम चलाएका उनलाई यो काम पनि सजिलो छैन। भन्छन् ‘देश विदेशबाट आएको सहयोगबाट जसोतसो आश्रम चलिरहेको छ।’

सुलेमानको आश्रममा कलाकारले जन्मदिनको अवसर पारेर केही सहयोग पनि गर्ने गरेका छन्।  इकुपछि अब फिर्के सुलेमान पुन: फिल्म निर्माणमा फर्किएका छन्।

उनको प्रस्तुतिमा नयाँ फिल्म फिर्केको निर्माण भएको छ। रवि डंगोलको निर्देशनमा बनेको फिर्केमा इकु विलकुलै फरक भूमिकामा देखिन लागेको बताउँछन्। भन्छन् ‘पहिला देखिरहनु भएको इकु भन्दा निकै फरक भूमिकामा प्रस्तुत हुदैछु म। फिर्केले मेरो इकुको छाप मेट्नेछ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!