- संगालोखबर सम्वाददाता

धनकुटा, २७ मंसिर । प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तथा प्रदेशको अस्थायी मुकाम नै तोकिनु पर्नेमा धनकुटाबासीले जोड दिएका छन् । क्षेत्रीय प्रशासन कार्यालय रहेको स्थानमा अस्थायी मुकाम तोकिने भनिएपनि धनकुटामा नभएर अन्यत्र तोकिने चर्चा भएपछि जिल्लाबासी चिन्तित बनेका छन् । आफुहरुप्रति अन्याय गरिए आन्दोलनको विकल्प नभएको स्थानीयको भनाई छ ।

साविकको पाँच विकास क्षेत्रको मुकाममा प्रदेशको मुकाम तोकिने भएपनि त्यसको विकल्पमा अन्यत्र तोकिने तयारी गरिएको स्रोतले जनाएको छ । प्रदेश १ को अस्थायी मुकाम अन्यत्र तोक्न लागिएको भन्दै धनकुटाबासीले त्यसप्रकारको उपेक्षा नगर्न अपिल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सहरी विकास मन्त्रालयले प्रदेशसभा हल, प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय, निवाससहितको अस्थायी मुकाम तोक्न लागेको हो । जसको टुंगो भोली (विहिवार) सम्ममा लाग्ने स्रोतको भनाई छ ।

Advertisement

विभिन्न सञ्चारमाध्यममा प्रदेश नं.१ को अस्थायी मुकाम विराटनगर तोकिन लागेको समाचार प्रकाशन भएपछि जिल्लामा यसबारे सर्वसाधारणले गम्भीर चासो लिएका छन् ।

डाँडागाउँबाट देखिएको धनकुटा बजार । फाईल तस्वीर : संगालोखबर

क्षेत्रीय प्रशासन कार्यालय रहेको स्थानमा अस्थायी मुकाम तोकिनु पर्नेमा सरकारले कन्जुस्याई गर्न नहुने नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठको तर्क छ । ‘भौतिक पूर्वाधार पर्याप्त छ, धनकुटामा नै राजधानी हुनु पर्नेमा अस्थायी मुकाम तोकिन नै आनकान गरिनु दुखद पक्ष हो ।’ अन्याय गरिए आन्दोलनको विकल्प नभएको उनको भनाई छ ।

धनकुटा ७ हुलाकटोलका शिवनारायण श्रेष्ठले पनि सरकारले जिल्लालाई उपेक्षा गर्न नहुने बताए । यसैगरी सञ्चारकर्मी भेषराज कटेलले पनि अस्थायी राजधानी धनकुटामा हुनेमा आफु आशावादी रहेको बताए । ‘प्रशासन कार्यालय र क्षेत्रीय सदरमुकाम भइसकेको स्थान भएकोले अस्थायी मुकाम त तोकिनै पर्दछ ।’

दशकौंदेखिको प्रशासनीक निकाय रहेकोले पर्याप्त भौतिक पुर्वाधार रहेको ठाउँमा नै मुकाम तोकिनु पर्ने स्थानीय पुण्यप्रसाद गुरागाईको तर्क छ । यस्तै स्थानीय जीतबहादुर राईले हजारौं रोपनी सरकारी जग्गा र सय बढि कार्यालय रहेकोले जिल्लामा नै राजधानीसमेत बनाउन उचित हुने बताए । हाल कायम रहेको क्षेत्रीय प्रशासक कार्यालयको समन्वयमा सरकारले मुकाम तोक्न लागेको स्रोतले जनाएको छ ।

तर यसबारे आफुलाई हालसम्म कुनै औपचारिक जानकारी नआएको र आफुले कुनै भूमिका निर्वाह नगरेको पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!