पुल्चोक क्याम्पसको स्ववियुमा यसअघि मुख्यत: कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र एमालेनिकट अनेरास्ववियुबीच प्रतिस्पर्धा हुने गरेको थियो । स्ववियुको ३० वर्षे इतिहासमा यी दुई विद्यार्थी संगठनबाहेक अरूले यो क्याम्पसमा विजय हासिल गर्न सकेका थिएनन् ।
२०६५ सालको निर्वाचन अनेरास्ववियुले जित्दा पनि यहाँ अखिल (क्रान्तिकारी)को त्यति प्रभाव थिएन । यसपटक त अझ माओवादी आन्दोलनको तेज पनि घटेको छ । शान्ति प्रकृयामा आएपछि माओवादीले पाएको चर्चा र चासो घटिसकेको छ । आन्तरिक विवाद र विभाजनले संगठन कमजोर बनेको छ ।
पार्टीको यो शिथिलता अखिल (क्रान्तिकारी) मा पनि देखिन्छ । मूलपार्टीजस्तै नयाँशक्ति नेपाल, वैद्य माओवादी र चन्द माओवादीका विद्यार्थी संगठनमा कार्यकर्ता विभाजित छन् । यस्तो प्रतिकूलताबीच पनि रोशन इतिहास बदल्न सफल भएका छन् ।
यसपालिको निर्वाचनमा अनेरास्ववियु दोस्रो भएको छ भने नेविसंघ चौथो । बरू स्वतन्त्र उम्मेद्वारी दिएका अखिल (क्रान्तिकारी) कै कार्यकर्ता अमृत अधिकारी तेस्रो भएका छन् । रोशनले ४९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अनेरास्ववियुका सुदीप चालिसेले ४३५ मत ल्याए। अमृतले ३३१ मत प्राप्त गरेका थिए ।
सभापतिबाहेक अखिल (क्रान्तिकारी) ले तीन सदस्य जित्यो । प्रत्यक्ष निर्वाचित हुने सचिव र कोषाध्यक्षमा अनेरास्ववियुले बाजी मार्यो । नेवि संघले एउटा सदस्य जित्यो ।
यसपटक पुल्चोक क्याम्पसमा २०८३ विद्यार्थी थिए। झन्डै १८ सय विद्यार्थीले मतदान गरे । अखिल (क्रान्तिकारी) को यो जितका थुप्रै कारणमध्ये रोशनको नेतृत्व प्रमुख कारण हो ।
‘म सभापतिका उम्मेद्वारमध्ये सबैभन्दा ‘सिनियर’ भएँ,’ पाँचौं वर्ष पुल्चोकमा पढिरहेका रोशनले भने, ‘त्यसैले अरू उम्मेद्वारभन्दा विद्यार्थीसँग मैले नै धेरै भेटघाट, अन्तरक्रिया गर्न पाएको छु । मैले प्राय:सबै विद्यार्थीलाई भेटको छु । त्यसैले मलाई सजिलो भयो ।’
आर्किटेक्चरका विद्यार्थी रोशनका अनुसार सिभिल लगायत अन्य विभागको तुलनामा यहाँ कम राजनीतिक गतिविधि हुन्छ। धेरै विद्यार्थी हुने सिभिलका अधिकांश विद्यार्थी कुनै न कुनै संगठनमा आबद्ध भइसकेका हुन्छन् । आर्किटेक्चरका विद्यार्थी भने संगठनमा आबद्ध नै हुँदैनन् ।
‘आर्किटेक्चरका साथीहरूले आफ्नो डिपार्टमेन्टको भनेर पनि मलाई भोट दिनुभयो,’ उनले भने, ‘यसले नै मेरो जित सुनिश्चित गर्यो ।’
अनेरास्वियु र नेविसंघका उम्मेद्वार सिभिलबाटै उठ्दा उनीहरुको भोट बाँडियो । रोशनलाई यसले फाइदा पुर्यायो।
उनी होस्टल बस्ने भएकाले आवासीय विद्यार्थीको सहयोग पनि रोशनलाई भयो ।
‘भोट माग्नेदेखि सबै चुनावको काम होस्टलका साथीहरूले गरिदिनु भयो,’ उनले भने,’ होस्टलमै बस्ने भएकाले यहाँका सबैसँग नजिक हुन पाएँ। यहाँ कुन संगठनको भन्दा पनि मित्रताले सजिलो बनायो ।’
आफूले जित्नुका कारणहरू खोतल्दै थिए उनी। कुरा गर्दै जाँदा उनलाई लाग्यो, यी सहायक कारणहरूमात्रै हुन् ।
मुख्य कारण के हो त?
‘परिवर्तनको चाहना,’ उनले छोटो जवाफ दिए ।
अनेरास्ववियु र नेविसंघले ३० वर्षदेखि स्ववियु जित्दै आएपनि अहिलेसम्म विद्यार्थीको चाहनाअनुसार काम गर्न नसकेको उनी बताउँछन् ।
उनले उदाहारण दिए,’लाइब्रेरी हेरौं न, हामी अहिले पनि ३० वर्ष पुरानो किताब पढिरहेका छौं। स्ववियुले काम गर्नु पर्ने यसैमा होइन र? क्याम्पसलाई नयाँ किताब ल्याउन भन्नु पर्ने होइन र ?’
विद्यार्थीहरूले यसमा परिवर्तन चाहेकाले नै अखिल(क्रान्तिकारी)लाई मत दिएको उनको भनाई छ ।
‘यो सबैभन्दा ट्यालेन्ट विद्यार्थीहरु भेला हुने ठाउँ हो, उनीहरूले परिवर्तन त खोज्छन् नै,’ उनले भने ।
यहाँका परम्परागत शक्तिहरू अनेरास्ववियु र नेवि संघबाट विद्यार्थी निराश भएकाले नै अखिल(क्रान्तिकारी)को उदय भएको उनको भनाई छ ।
यसपटक पुल्चोक क्यामपसको चुनावी माहोललाई उनले पहिलो संविधान सभा निर्वाचनको माहोलसँग तुलना गरे । त्यसबेला ‘पटक-पटक हेर्यौं कांग्रेस एमालेलाई-एकपटक हेरौं माओवादीलाई’ भन्ने नारा नै चलेको थियो। यसपटकको निर्वाचनअघि पुल्चोक क्याम्पसमा यही माहोल भएको उनले बताए ।
‘मुलुककै सबैभन्दा ट्यालेन्ट विद्यार्थीहरूले अखिल क्रान्तिकारीलाई छानेका छन्,’ रोशनले भने, ‘यो जित माओवादी आन्दोलन सकिएको छैन भन्ने सन्देश पनि हो ।’ सेतोपाटी