झापा(दमक), २८ कात्तिक । कमल गाउँपालिका वडां. ५ मिलडाँडाका  किसान मदन योङ्हाङ लिम्बूले यस वर्ष धान काट्न खेताला खोज्ने झन्झट गर्न परेन। गत वर्ष धान पाकिसक्दासमेत खेताला नभेटेर धान भित्र्याउन परेको हैरानी उनले अझै भुलेका छैनन्।

Advertisement

तर, यस वर्ष भने गाउँमा धान काट्ने मेसिन भित्रिएपछि आधाभन्दा बढी मजदुरको काम टरेको छ। पहिला धान काट्न गाउँभरी खेताला खोज्दा पनि नभेटिने तर यस वर्ष मेसिन आएपछि त्यो झन्झट हटेको उनले सुनाए।

अघिल्ला वर्षदेखि नै धान झार्नका लागि थ्रेसरको प्रयोग गरे पनि काट्ने मेसिन भने यस वर्ष मात्र भित्रिएको हो। काट्न पनि मेसिन प्रयोग गरेपछि बिटा उठाउन र धान थन्क्याउन मात्र मान्छेको आवश्यकतापर्ने उनले बताए। यस गाउँमा भने कुनै उपहार र अनुदानमा धान काट्ने मेसिन आएको होइन। किसानहरुले नै गत तिहारमा देउँसी खेलेको रमकले पावर ट्रेलर धान काट्ने मेसिन ल्याएका हुन्। यही मेसिनका कारण अचेल स्थानीय किसानहरुको दैनिकी नै फेरिएको छ।

एक बिघा सम्मको धान काट्नलाई एकदिन मेसिन ल्याएर लगाउँदा काफी हुने सोही ठाउँका अर्का किसान दिवान राईले बताए। एक त खेताला नपाइने र पाइए पनि धेरै दिन लाग्ने। तर, मेसिनको प्रयोगले लागत र समय दुवैको बचत भएको उनले बताए।

दैनिक ३ सय रुपैयाँ हाजिरामा पाउने गरिएका कृषि मजदुरको अचेल चर्को अभाव झेल्नुपरिरहेको कमल-५ का किसान ख्याम आचार्य बताउँछन्।

धेरै युवा युवती वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका, कतिपय भारतीय सहरहरुमा रोजगारीका लागि जाने गरेका र विभिन्न कारणले  गाउँमा कृषि मजदुरको अभाव चर्किएको हो।

यस्तै गाउँमा रहेका मजदुरहरु समेत निर्माणको क्षेत्रमा लाग्न थालेपछि गाउँमा धान काट्न, थन्क्याउने र जोत्ने मजदुर पाउन छोडिएको हो। अघिल्ला वर्षहरुमा केही स्थानमा ठूला आकारका कृषि औजारहरुको प्रयोग भए पनि अचेल भने गाउँगाउँमा रहेका किसान समूह तथा सहकारी संस्थाहरुले पनि साना कृषि उपकरण भित्र्याएका छन्।

ठूला आकारका यन्त्रहरुको खरिदका लागि पँुजीको अभाव भए पनि साना पावर ट्रेलरको प्रयोग अचेल गाउँगाउँमा बढ्दै गएको हो। आकर्षणसँगै व्यापार बढ्यो कृषि क्षेत्रमा यान्त्रीकरणको अभ्यास बढेपछि यस्ता सामग्रीको व्यवसायसमेत बढेको छ। यान्त्रीकरणतर्फ किसानको बढ्दो आकर्षणले यस्ता सामग्रीको व्यापार बढाएको हो।

विभिन्न कृषि यन्त्र तथा उपकरणको व्यवसाय गर्दै आएका दमकका घनश्याम खनालले अचेल जोत्ने ट्रयाक्टर मात्र नभई काट्ने, गोड्ने जस्ता उपकरणको पनि माग बढेको जनाए।

कृषि यन्त्रहरुको प्रयोगले उत्पादनलाई गुणस्तरीय बनाउन पनि सघाउ पुग्ने कृषि प्राविधिकहरुले बताएका छन्। आधुनिक यन्त्र तथा उपकरण प्रयोग गर्दा सहज ढंगबाट फसल थन्क्याउन सकिने र यो गुणस्तरीय पनि हुने कमल गाउँपालिकाका कृषि प्राविधिक प्रेमप्रसाद पोखरेलले बताए। यस्ता उपकरणले लागतसँगै किसानको समय पनि बचत गर्ने भएकाले अचेल कृषिमा यान्त्रीकरणको अभ्यास बढेको उनले बताए।-थाहाखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!