झापा, १५ कात्तिक । झापामा मनोनयन दर्तालाई सहज र सरल बनाउन सरोकारवालासँग लिखित सम्झौता गरिएको छ । राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरी मनोनयन दर्तालाई सहज बनाउन तीन बुँदे लिखित सम्झौता गरिएको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोपाल आचार्यले जनाकारी दिनुभयो ।

Advertisement

उहाँकाअनुसार निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न, मनोनयन शान्तिपूर्णरूपमा सम्पन्न गर्न र कोणसभा व्यवस्थित गर्न आ–आफ्नो तर्फबाट प्रयास गर्ने सम्झौता भएको छ ।

मनोनयनपत्र दर्ताका लागि झापाको भद्रपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित पाँचवटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ । क्षेत्र नं १ र ३ को जिल्ला समन्वय समितिको कार्यालयमा क्षेत्र नं २ को जिल्ला शिक्षा कार्यालयमा, क्षेत्र नं ४ को जिल्ला स्काउट कार्यालयमा र क्षेत्र नं ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

क्षेत्र नं ३ मा मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला न्यायाधीश खिलानाथ रेग्मी र निर्वाचन अधिकृतको रूपमा क्षेत्र नं १ मा सर्वोच्च अदालत काठमाडौँका इजलास अधिकृत शिवप्रसाद पराजुली, क्षेत्र नं २ मा सोही अदालतका उपरजिष्ट्रार इन्दिरा शर्मा, क्षेत्र नं. ४ मा सोही अदालतका इजलास अधिकृत प्रेम खड्का र क्षेत्र नं ५ मा इजलास अधिकृत शकुन्तला कार्की खटिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयले मनोनय दर्ता प्रक्रिया शान्तिपूर्णरूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ । प्रहरी उपरीक्षक विष्णुकुमार केसीले मनोनयन दर्ता शान्तिपूर्णरूपमा सम्पन्न गर्न सुरक्षाको व्यवस्था मजबुद बनाएको र आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!