
विराटनगर । भोजपुरको रामप्रसादराई गाउँपालिकामा कार्यालय सहयोगी नियुक्तिको विषयलाई लिएर असन्तुष्टि चुलिएको छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईको दबाबमा क्षमता भएका व्यक्तिलाई पाखा लगाएर अन्य व्यक्तिलाई कार्यालय सहयोगी नियुक्त गरिएको भन्दै आलोचना भएको हो ।
गाउँपालिकाले भदौ २४ गते सूचना प्रकाशन गरेर करार सेवाका लागि ४ नम्बर वडा कार्यालय र गाउँपालिकाको कार्यालयका लागि दुई जना कार्यालय सहयोगी माग गरेको थियो । जसमा कार्यालय सहयोगीका लागि ११ जनाको आवेदन परेको थियो ।
कर्मचारी छनोटका लागि असोज १६ गते मौखिक परीक्षा भएकोमा गाउँपालिका अध्यक्षको दबाबमा योग्य व्यक्तिलाई पाखा लगाइएको आरोप लागेको छ ।
‘कार्यालय सहयोगी नियुक्ति अध्यक्षको दबाबमा भएको छ’, परीक्षामा सहभागी रामप्रसादराई गाउँपालिका-४ का सुशील कार्कीले भने, ‘मौखिक परीक्षा मात्र गराइयो । क्षमतावान मान्छेलाई पाखा लगाइएको छ ।’
उनले मौखिक परीक्षामा सेटिङ गराएर अध्यक्ष निकट मान्छेलाई पास गराइएको दाबी गरे । गाउँपालिकाले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार दलगाउँ-६ का श्यामकुमार मगर र बैकुण्ठे-६ की अनिता राई अन्तरवार्तामा सफल भएका छन् ।
सुशील कार्की र यर्दन तामाङको नाम बैकल्पिकमा राखिएको छ । ‘मेरो नाम वैकल्पिकमा राखिएको छ । अरु पनि क्षमता भएका व्यक्ति छनोट भएनन्’, कार्कीले भने, ‘अध्यक्षको निजी फर्ममा काम गर्ने एक जना छनोट भएका छन् । दुवै जनालाई अध्यक्षकै दबाबमा राखिएको हो ।’
कार्यालय सहयोगीमा आवेदन दिएकी निलम मगरले पनि गाउँपालिका अध्यक्ष निकट मान्छेलाई पास गराइएको दाबी गरिन् । अध्यक्षको दबावका कारण क्षमतावान व्यक्तिलाई पछि पारिएको उनको गुनासो छ ।
‘म आफैँ हुनुपर्छ भन्ने हैन । म आफैं हुनुपर्छ भन्ने हिसाबले मैले विरोध गरेको पनि हैन’, उनले भनिन्, ‘क्षमतावान भाइबहिनीहरूलाई पनि पछि पारेर आफ्ना निकट मान्छेलाई स्थान दिनु गलत हो ।’
कार्यालय सहयोगी पदका लागि आवेदन दिएकी केशवकुमारी मगरले पनि क्षमतावान व्यक्तिलाई पछि पारिएको गुनासो गरिन् । अध्यक्ष नजिकका मान्छेलाई स्थान दिएर अन्य व्यक्तिलाई पाखा लगाउनु गलत भएको उनले बताइन् ।
‘पढेलेखेका सक्षम व्यक्तिलाई स्थान नदिएर अध्यक्षकै फर्ममा काम गर्ने र निकट व्यक्तिको नाम निक्लियो’, उनले भनिन्, ‘क्षमता भएका शिक्षित व्यक्तिले कहिले मौका पाउने ? क्षमता भएका व्यक्तिले मौका पाउनुपर्छ भन्ने हाम्रो धारणा हो ।’
चित्त नबुझ्दा उजुरी दिँदा हुन्छ : अध्यक्ष राई
गाउँपालिकाका अध्यक्ष थामबहादुर राई सो कुरा अस्वीकार गरेका छन् । अहिले आफ्नो कृषि फर्म नभएको उनले दाबी गरे । ‘मेरो फर्म छ भनेर कसले भन्यो । मेरो नाममा त्यो फर्म छैन । पहिला हामीले नै खोलेको हो’, उनले भने, ‘तर अहिले त्यो कृषि फर्ममा म छैन । पालिकामा कर्मचारी मागेपछि दरखास्त त जसले पनि दिन मिल्छ नी । दबाब दिएर छनोट गर्ने काम गरिँदैन र गरेको पनि छैन ।’
उनले कार्यालय सहयोगीका लागि शैक्षिक योग्यताको मापन नहुने बताए । चित्त नबुझ्नेहरूलाई नियमअनुसार सम्बन्धित निकायमा उजुरी दिन आग्रह गर्दै उनले आफूले अहिलेसम्म कुनै कर्मचारी भर्नामा दबाव नदिएको दाबी गरे ।
‘परीक्षा पनि नियमअनुसार हुन्छ । नियमभन्दा हामीले दाँयाबाँया गर्न मिल्दैन । कसैलाई पक्षपात गरेको छैन’, अध्यक्ष राईले भने, ‘आजसम्म कुनै पनि कर्मचारी आफ्नो मान्छे नियुक्त गरेको छैन ।’ उनले अहिलेसम्म चित्त नबुझेको विषयमा सम्बन्धित निकायमा गएर कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै त्यसको फेस आफूले गर्ने बताए ।

मोहन ढकाल/संगालोखबर 




















