
विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारमा भीषण आगलागी भएको छ । करिब ४५ मिनेट अघिबाट सुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । दोभानका प्रहरी निरीक्षक (इन्स्पेक्ट) दीपक लिम्बुले आगो नियन्त्रणको प्रयास भइरहेको संगालोखबरलाई जानकारी दिए ।
ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल बजगाईंका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र जिल्लाबाट थप नेपाल प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेका छन् । यस्तै फुङ्लिङ नगरपालिकाको दमकल पनि त्यसतर्फ प्रस्थान गरेको उनले बताए ।
‘करिब ४५ मिनेट अघिबाट आगो लाग्न सुरु भएको जानकारी आएको छ’, उनले संगालोखबरसँग भने, ‘त्यहाँ बाक्ला घरहरू छन् । थप क्षति नहोस् भनेर आगो नियन्त्रणको प्रयास तीव्र भइरहेको छ । दमकल पनि पुग्न लागेको छ ।’
आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

संगालोखबर 

















