
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको अध्यक्षमा पुनः राजेन्द्र राउत निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न आठौँ प्रदेश सभा तथा निर्वाचनमार्फत राउत दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
राउतले कुल मतको ६९ दशमलव ७२ प्रतिशत मत प्राप्त गरेका छन् । जिल्ला नगर संघतर्फको ३८ मध्ये २४, एसोसिएटतर्फ १४७ मध्ये १०७ र वस्तुगततर्फको १९ मध्ये राउतले ११ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नविन रिजालले जिल्ला नगर संघबाट १३ मत, वस्तुगतबाट ६ र एसोसिएटबाट ३९ मत प्राप्त गरेका छन् ।
समितिको उपाध्यक्षमा जिल्ला नगरतर्फ ऋषिराज तिम्सिना, वस्तुगततर्फ राजन श्रेष्ठ र एसोसिएटतर्फ रविनकुमार दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
जिल्ला नगरतर्फका ५ सदस्यमा ७ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, जयप्रकाश शर्मा, खड्गबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । वस्तुगततर्फका दुई सदस्यमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा सुवास आचार्य र दीपक पाण्डे निर्वाचित भएका छन् ।

संगालोखबर 






















