
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । महासंघको ८ औं प्रदेशसभाले आगामी कार्यकालका लागि १४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
अध्यक्ष पदका लागि विराटनगरका दुई स्थापित उद्योगी राजेन्द्र राउत र नवीन रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै उम्मेदवारले करिब एक महिनादेखि प्रदेशव्यापी चुनावी अभियान चलाउँदै आएका छन् ।
हालका अध्यक्ष राउत महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल निकट मानिन्छन् भने केन्द्रीय सदस्य रिजाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ पक्षसँग नजिक छन् । यी दुई प्रतिस्पर्धीबीच झण्डै आठ वर्षअघि मोरङ व्यापार संघको निर्वाचनमा पनि प्रतिस्पर्धा भएको थियो ।
जसमा रिजाल पक्ष विजयी भएको थियो । यसपटक राउत पुरानो हारको बदला लिने र रिजाल पुरानै सफलता दोहोर्याउने रणनीतिका साथ मैदानमा छन् ।
शिवम् अर्गनाइजेशनका अध्यक्ष राउतले महासंघ कोशीको नेतृत्व सम्हाल्दा संस्थालाई गतिशील बनाएको र कोरोना महामारीका बेला ग्रामीण क्षेत्रमा स्वास्थ्य सामाग्री पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले आफ्नो कार्यकालमा बैंक ब्याजदर र कर नीतिका विरुद्ध व्यवसायीका मुद्दालाई सडकसम्म पुर्याएर दबाब सिर्जना गरेका थिए । निर्वाचन समितिका अनुसार आज दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता हुनेछ ।
यस्तै साँझ ६ बजेदेखि ८ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै गणना सुरु गरी आज राति नै परिणाम घोषणा गर्ने तयारी छ । निर्वाचनमा जिल्ला नगर उद्योग वाणिज्य संघबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटबाट १४८ गरी कुल २०५ मतदाता सहभागी हुँदैछन् ।
जसबाट अध्यक्ष, तीन उपाध्यक्ष र कोषाध्यक्षसहित ५ पदाधिकारी र ९ सदस्य गरी १४ सदस्यीय प्रदेश समिति छनोट हुनेछ ।

संगालोखबर 



















