
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-२ होम्सस्थित कोशी लोकमार्गमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
दुर्घटनामा प्र १-०२-०४९ प ६३४० नम्बरको मोटरसाइकल चालक ५२ वर्षीय अमर भुजेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका भुजेललाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
इटहरीबाट तरहरातर्फ जाँदै गरेको प्र १-०२-०४७ प ६८६३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ सडक पार गर्दै गरेको ६३४० नम्बरको मोटरसाइकल शुक्रबार राति करिब ८ बजे एकआपसमा ठोक्किएका थिए ।
६८६३ नम्बरको मोटरसाइकल चालक इटहरी २० का १७ वर्षीय स्माइल राई र पछाडि सवार १६ वर्षीय रोहित गिरी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 


















