धनकुटा, ३० असोज । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ लितुङटारमा प्रहरीले आज २५ रोपनी क्षेत्रफलको गाँजा खेती फडानी गरेको छ । गाउँमा अवैध रुपमा खेति गरिएको गाँजा फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रमखु जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतीको नेतृत्वमा गएको प्रहरी टोलीले ३ हजार १ सय ५२ बोट गाँजा फडानी गरी जलाएर नष्ट गरेको धनकुटाका प्रहरी प्रवक्ता धनप्रसाद शिवाकोटीले संगालोखबरलाई जानकारी दिए ।
उनका अनुसार प्रमुख जिल्ला अधिकारी उप्रेति, प्रहरी प्रमुख सुदिप राजभण्डारीसहित करिव २० जनाको टोलीले दिनभर लगाएर गाँजा खेति नष्ट गरेको हो ।
धनकुटामा प्रहरीले अहिले अभियान नै सञ्चालन गरी गाँजा फडानी गरिरहेको छ । यसअघि पनि जिल्लाका बिभिन्न क्षेत्रमा लगाईएको गाँजा खेति फडानी गरिएको थियो ।
छिन्ताङ, आहाले लगायत क्षेत्रमा दैनिक ४÷५ सय बोट गाँजा फडानी भईरहेको धनकुटाका प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताएका छन । ‘हामीले एक साता अघि देखि अभियान कै रुपमा गाँजा फडानी गरिरहेका छौ ।’
प्रहरी प्रमुख राजभण्डारीले संगालोखबरकर्मीसँग भने ‘गाँजा खेति भएको क्षेत्र पहिचान गरी नियमित रुपमा त्यसलाई नष्ट गर्दैछौ ।’