
विराटनगर । विराटनगरमा जारी ‘विराट ट्रेड एक्स्पो’ अन्तर्गत साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि र संरक्षणलाई केन्द्रमा राखेर विशेष थिमेटिक सेसन भएको छ ।
‘साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण’ शीर्षकमा आज आयोजित उक्त प्यानल छलफलमा उद्योगी, नीति निर्माता र सरोकारवालाहरूले उद्योगमैत्री नीति, सहज लगानी, आधुनिक प्रविधि र बजार पहुँचका विविध पक्षमा गहन छलफल गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले साना तथा मझौला उद्योग नै देशको रोजगारी सिर्जनाको मुख्य आधार भएको बताए ।
उनले यस्ता उद्योगको संरक्षणबिना आर्थिक समृद्धि सम्भव नभएको उल्लेख गरे । ‘बैंकमा तरलता भए पनि ऋण प्रवाह सहज छैन । कर र श्रम नीतिले उद्यमीलाई थप दबाब दिएको छ । उत्पादनमुखी अर्थतन्त्र निर्माणमा राज्य गम्भीर हुनुपर्छ’, उनले भने । उनले कोशी प्रदेशमा कृषि, ऊर्जा, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको समेत उल्लेख गरे ।
छलफलमा उदय परियोजनाका ‘रिस्क सेयरिङ लिड’ उत्सव घिमिरेले साना उद्योगका लागि समावेशी आर्थिक संस्थाको आवश्यकता औंल्याए । बैंक ऋणको विकल्पमा अन्य वित्तीय साधन नहुँदा उद्यमशीलता बढ्न नसकेको उनको तर्क थियो ।
उनले स्टार्टअपको लाइफसाइकल अनुसार सहयोग, कोलाटरलबिना कर्जा र प्रविधि (एआई) मा लगानी बढाउन सुझाव दिए । सरकारी अनुदान वास्तविक उद्यमीसम्म पुग्ने गरी प्रणाली व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए ।
युवा उद्यमी प्रतीक राउतले नेपालका ९० प्रतिशत उद्योग साना तथा मझौला रहेको तथ्याङ्क प्रस्तुत गर्दै सन् २०२६ पछि नेपाल विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुँदा हुने विश्वव्यापी प्रतिस्पर्धाका लागि अहिलेदेखि नै ब्रान्डिङ र सूचना प्रविधिमा लगानी गर्नुपर्ने बताए । उनले स्थिर पुँजीका आधारमा मात्र एसएमईको परिभाषा गरिनु उपयुक्त नभएको भन्दै नीतिगत परिवर्तनको माग गरे ।
उद्यमी अमित शारडाले सकारात्मक सोच र गुणस्तरीय उत्पादनले निर्यात बढाउन सकिने धारणा राखे । विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जाराले डिजिटल माध्यमबाट बजार पहुँच सहज बन्दै गएको र सरकार पछिल्लो समय केही लचिलो देखिएको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डेले उद्योग दर्ता, नवीकरण र प्रविधि हस्तान्तरणमा प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए। उनले महिला उद्यमीलाई राजस्वमा छुट दिने व्यवस्था रहेको र बजारको मागअनुसार नयाँपनसहित आउने उद्यमीहरू सफल हुने विश्वास व्यक्त गरे ।
सेसनमा शिखर इन्स्योरेन्सका महाप्रबन्धक प्रज्वल आचार्यले उद्योगको सुरक्षाका लागि बीमाको आवश्यकता र महत्वबारे प्रस्तुति दिएका थिए ।

संगालोखबर 













