
विराटनगर । विराटनगरको कोशी अस्पतालबाट भागेका थुनुवा अढाई महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-१ का २० वर्षीय मोहमद राजु छन् ।
उनलाई आज बिहान ४ः२५ बजे पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । जिल्ला अदालत मोरङले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई गत भदौ १७ गते जिल्ला कारागार मोरङ चलान गरिएको थियो ।
कारागारमा रहेका उनलाई अचानक पेट दुख्ने समस्या देखिएपछि उपचारका लागि असोज १२ गते साँझ कोशी अस्पताल भर्ना गरिएको थियो । उनी शौचालय गएका बेला प्रहरीलाई छलेर सोही दिन राति ८ः२० बजेतिर उनी फरार भएका थिए ।
आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला परेका उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 












