
विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको रामचोक-हाटखोला सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । हुलाकी सडकको रतुवा-केशलिया खण्डमा पर्ने ६ किलोमिटर लामो सडकको ठेक्का तोडिएको हो ।
सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता तोडेको जनाएको छ ।
उक्त कम्पनीसँग २३ कात्तिक २०७६ मा ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएपनि ६ वर्षमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्रै देखिएको छ ।
ठेक्का सम्झौताको म्याद दुई पटक थप गरिएकोमा पछिल्लो पटक थप गरिएको म्याद गत जेठमा सकिएको थियो । पटक-पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यालय इटहरीले जनाएको छ ।
ठेक्का सम्झौता रद्द गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत वापतको ४ करोड १९ लाख र पेश्की वापतको ९ करोड ६७ लाख रुपैयाँ जफत गर्नेछ ।
निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ ।

संगालोखबर 













