संगालोखबर
तस्बिर : गोमा ढुङ्गाना/संगालोखबर

विराटनगर । विराटनगरमा आगामी पुसमा ‘विराट ट्रेड एक्स्पो-२०२५’ हुने भएको छ । मोरङ व्यापार उद्योग संघको आयोजनामा पुस ९ गतेदेखि १९ गतेसम्म एक्स्पो हुन लागेको हो ।

संघले आज पत्रकार सम्मेलन गर्दै शान्ति चोकस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको निजी जग्गामा एक्स्पो आयोजना गर्न लागेको जनाएको छ ।

Advertisement

जेनजी आन्दोलनपछि उत्पन्न भएको विद्यमान शिथिल तथा अनिश्चित आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वदेशी उद्योग व्यवसायको प्रवर्द्धनका लागि एक्स्पोको आयोजना गर्न लागिएको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए ।

यस्तै अन्तर प्रादेशिक उत्पादन र सेवाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरू बीच व्यवसायिक सम्बन्ध र सहकार्य स्थापनासँगै कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रचार-प्रसार गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

मोरङ-सुनसरी आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनः प्राप्ति गर्ने मुख्य उद्देश्यले आयोजना गरिन एक्स्पोमा जर्मन प्रविधिको ह्याङगर, अक्टानम सहितको करिब २३० स्टल रहने आयोजकले जनाएको छ ।

स्टल मार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरूका अतिरिक्त प्रदेशका महत्व झल्किने कला-संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरूको प्रदर्शनी गरिने छ । यस्तै छिमेकी राष्ट्र भारत, बंगलादेश, पाकिस्तान लगायत देशका उत्पादित वस्तुहरूको उत्पादनकर्ता र उपभोक्ता बीच सुमधुर सम्बन्ध कायम गरिने जनाइएको छ ।

एक्स्पोमा स्टार्टअप, साना तथा मध्यम उद्यम, पर्यटन, सूचना प्रविधि, कर तथा लेखा र महिला उद्यमशीलता सम्बन्धी विभिन्न छलफल तथा गोष्ठीमार्फत सहभागीहरूलाई उपयोगी ज्ञान, सीप र अवसर प्रदान गरिने अध्यक्ष राठीले जानकारी दिए ।

नयाँ उद्यमीका लागि स्टार्टअप सञ्चालन गर्ने अवसर, साना तथा मध्यम उद्यमका लागि व्यवसाय विस्तारका उपाय, पर्यटन प्रवर्द्धनका रणनीति, डिजिटल ज्ञान तथा साइबर सुरक्षा, कर-लेखा सम्बन्धी नयाँ प्रणाली तथा महिलालाई उद्यमशीलतामा प्रोत्साहन दिने कार्यक्रमहरू समावेश हुने एक्स्पोका संयोजक अमित कुमार शारदाले जानकारी दिए । एक्स्पोमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुती दिने छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!