संगालोखबर


विराटनगर । मोरङको बेलबारी नगरपालिका-२ सिंहदेवी टोलमा बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु भएको छ । बेहोस अवस्थामा भेटिएका ससुराको उद्धार गरिएको छ । उनको अवस्था पनि गम्भिर रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो ७० वर्षीय भक्तबहादुर राई घरनजिकको खोल्सामा बेहोस अवस्थामा भेटिएपछि स्थानीयले घरमा ल्याएका थिए । घरमा उनकी पत्नी ७७ वर्षीया इन्द्रमाया राई पनि बेहोस अवस्थामा थिइन् ।

Advertisement

बेहोस अवस्थामा भेटिएका वृद्ध दम्पतीलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । इन्द्रमायाको उपचारकै क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बताए । भक्तबहादुरको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको आरोपमा बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार राई दम्पतीका आफ्ना सन्तान नभएपछि भतिजो प्रशान राई र उनकी श्रीमती सुनीता कार्कीसँगै बस्दै आएका थिए ।

भतिजो घर बाहिर रहेका बेला सुनीताले सासू र ससुरालाई खानामा विष मिसाएर खुवाएको पत्ता लागेको प्रहरीले जनाएको छ । सुनीताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी चौधरीले जानकारी दिए ।

प्रहरीले अँगेनोमा हालेर जलाइएको अवस्थामा बट्टा फेला पारेपनि विषादीको नाम पत्ता लाग्न नसकेको जनाएको छ । थप अनुसन्धानपछि बाँकी कुरा खुल्ने प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!