
विराटनगर । एचआईभी/एड्ससम्बन्धी जनचेतना बढाउने र प्रभावकारी नीति-कार्यन्वयनमा आवश्यक समन्वय गर्न विराटनगरमा प्यानल छलफल भएको छ । विश्व एड्स दिवसको अवसरमा विभिन्न सरोकारवाला निकायको उपस्थितिमा प्यानल छलफल भएको हो ।
स्वास्थ्य निर्देशनालय धनकुटा, एएचएफ नेपाल, स्वास्थ्य कार्यालय मोरङ, लायन्स क्लब अफ विराटनगर मेट्रो लगायतको संयुक्त आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरेले प्रदेशमा दिगो स्वास्थ्य सेवाका लागि साझा पहल आवश्यक रहेको बताए ।
स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतले सरोकारवाला निकायको सक्रियताले दाताको सहयोग बिना पनि प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्न वातावरण तयार भएको बताए ।
परिवर्तनशील समाजकी अध्यक्ष मुस्कान श्रेष्ठले भेदभाव, हिंसा र सामाजिक अपहेलनाका विषयलाई जोड दिँदै राज्य र साझेदार दुबैको साझेदारी बिना एचआईभी सम्बन्धी जनचेतना समुदायमा पुर्याउन सम्भव नभएको बताइन् ।
महिला महासङ्घकी अध्यक्ष प्रीति सुब्बा गुरुङले जोखिम समूहका महिलाले उपचार खोज्दा अझै सहज सेवा नपाएको गुनासो गर्दै स्वास्थ्य प्रणालीमा सुदृढ उत्तरदायित्व आवश्यक रहेको उल्लेख गरिन् । नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठको नेतृत्वमा प्यानल छलफल भएको थियो ।

संगालोखबर 













