संगालोखबर


विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेशले ‘लिडरसिप समिट’ आयोजना गर्ने भएको छ । बदलिँदो शैक्षिक परिवेश अनुसार विद्यालय सञ्चालन र नेतृत्व विकास गर्ने उद्देश्यले मंसिर २६ गते सुनसरीको इटहरीमा एक दिवसीय ‘लिडरसिप समिट’ गर्न लागेको हो ।

विद्यालय नेतृत्वलाई दिगो, व्यावसायिक, समावेशी र भविष्यमुखी बनाउँदै विद्यालयलाई सुरक्षित र सिकाइमैत्री बनाउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम तय गरिएको प्याब्सनले जनाएको छ ।

Advertisement

सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट करिब ३ सय जना विद्यालय सञ्चालक तथा प्रिन्सिपलहरूको उत्साहजनक सहभागिता रहने प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

समिटमा विद्यालय सुधारका विविध आयामहरूमा गहन छलफल र प्रशिक्षण हुनेछ । विशेषगरी निर्देशात्मक नेतृत्व, आलोचनात्मक पढाइ, शिक्षकको निरन्तर पेसागत विकास, बाल सुरक्षा, र विद्यार्थीको सामाजिक-भावनात्मक विकास जस्ता विषयहरू मुख्य प्राथमिकतामा रहनेछन् ।

कार्यक्रममा मुख्य प्रशिक्षकका रूपमा कुमार थापा, अञ्जु भट्टराई, आयुष्मा रेग्मी र तनुश्री सिंह सहभागी हुनेछन् । त्यस्तै, मुख्य वक्ताका रूपमा प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारी, प्रमुख सल्लाहकार डिके ढुङ्गाना, वरिष्ठ सल्लाहकार टिकाराम पुरी र केन्द्रीय तालिम विभाग प्रमुख सन्तोषमणि न्यौपाने लगायतले शिक्षाका विभिन्न आयाममा आफ्नो अनुभव र दृष्टिकोण प्रस्तुत गर्नेछन् ।

कार्यक्रम सम्पन्न गर्न करिब ३६ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । यो सम्मेलनले कोशी प्रदेशमा विद्यालय नेतृत्व विकास, शिक्षकको व्यावसायिक वृद्धि र समग्र शैक्षिक गुणस्तर सुधारमा नयाँ ऊर्जा थप्ने विश्वास लिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!