
विराटनगर । सेवा प्रवाह सञ्चालनका लागि कोशी प्रदेश सरकारको पहलमा आज दुहबी नगरपालिकामा करिब १८ लाख बराबरको ल्यापटप, कम्प्युटर दराज लगायतका ११ प्रकारका सामाग्री प्रदान गरिएको छ ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज नगरप्रमुख वेद नारायण गच्छदारलाई एक समारोह बीच सामान हस्तान्तरण गरेका हुन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत यो सहयोग गरिएको हो ।
कोशी प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख बराबरका सामग्री हस्तान्तरण हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत दुहबीबाट आज यो सुरुवात गरिएको हो । कोशी प्रदेशका क्षतिग्रस्त ४०१ वडामध्ये १५४ वडामा सेवा चुस्त दुरुस्त पार्नको लागि यो सामग्री प्रदान गरिएको जनाइएको छ ।
जेनजी आन्दोलनमा कोशी प्रदेशका १३७ पालिका मध्ये ३७ पालिकामा क्षति पुगेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारलाई आएको सहयोग रकम जनताको महत्वपूर्ण सेवा प्रवाह गर्ने कार्यालयहरूलाई वितरण गरिएको बताए ।
कार्यालय पुनः स्थापना गर्ने लक्ष्य अनुरूप यो कामलाई तीव्र रुपमा अगाडि बढाइने मुख्यमन्त्री कार्कीको भनाइ छ । जेनजी आन्दोलनपछि पूर्ण वा आंशिक क्षति पुगेपछि स्थानीय तहको सेवा प्रवाह छिटो र छरितो बनाउन प्रदेश सरकारले ठूलो मात्रामा सामग्री वितरण गरेकाले यसले आम नागरिकमा ठूलो राहत दिने प्रदेश सरकारको विश्वास छ ।
यस कार्यक्रमअन्तर्गत कम्प्युटर, ल्यापटप, प्रिन्टर, यूपीएस, टेबल-कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्विच, औषधि तथा प्लास्टिक कुर्सी सहितका सामग्री कुल ६ करोड १८ लाख रुपैयाँ बराबरका रहेका छन् ।
यो कार्य स्विस सरकार विकास सहयोग कार्यक्रम अन्तरगत सहयोग गरिएको हो । मुख्यमन्त्री कार्कीले जनताको काम वडाबाट नै हुने भएकाले स्थानीय तहलाई प्राथमिकतामा राखेर सेवा पुनर्स्थापना र क्षमता अभिवृद्धिको अभियान अघि बढाइएको उल्लेख गरे । उनका अनुसार क्षतिग्रस्त वडामा प्रशासनिक, प्राविधिक र स्वास्थ्य सेवा सहज बनाउँदै पुनर्निर्माण तथा पुनःसञ्चालनलाई गतिशील बनाउन यो सहयोग महत्वपूर्ण हुनेछ ।
मुख्यमन्त्री कार्कीले १० दिनभित्र यो सहयोग वितरण गरिसक्ने जानकारी दिँदै स्थानीय तह र प्रदेश सरकारका ध्वस्त संरचनाहरूलाई पनि पुनर्निर्माणका लागि पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्दै विकास निर्माणलाई आधार मानेर काम अघि बढाउने नीति लिएको छ । उक्त सामग्री हस्तान्तरणले प्रभावित वडाहरूमा सेवा पुनःस्थापना र जनजिविकामा राहत पुर्याउने अपेक्षा गरिएको छ । गच्छदारले दुहबी नगरपालिकामा मात्रै करिब ४ करोड ६५ लाख बराबरको क्षति भएको जानकारी दिए ।

संगालोखबर 













