
विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मोरङको रंगेली नगरपालिकाले नेपालमै पहिलो पटक किशोरी स्वास्थ्य परामर्श मेला आयोजना गर्ने भएको छ । मंसिर १४ गते आइतबार १० देखि १८ वर्षसम्मका बालिकाहरूलाई लक्षित गरेर मेला आयोजना गर्न लागिएको हो ।
किशोरी अवस्थाका समस्याहरू, बालविवाह, बालश्रमिक, चेलीबेटी बेचबिखन, लागूपदार्थ दुर्व्यसन, महिनावारी, प्रजनन स्वास्थ्य, महिला हिंसा लगायतका विषयमा विज्ञहरूबाट परामर्श तथा सुझाव दिने उद्देश्यले किशोरी मेला आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख भूमाकुमारी पराजुलीले बताइन् ।
२० वटा भन्दा बढी स्टलहरू रहने मेलामा विज्ञहरूद्वारा किशोरीहरूलाई सकारात्मक विषयमा सहजीकरण गर्ने जनाइएको छ । मेलामा वरिष्ठ डाक्टरहरू, वरिष्ठ नर्सहरू, कोशी प्रदेश अन्तर्गतका सामाजिक संघसंस्थाहरू सहभागी हुनेछन् ।
किशोरी शक्ति समाजकै ऐना भएकाले किशोरीहरूको शारीरिक र मानसिक समस्याहरू समाधान गर्ने उद्देश्यले मेला आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
किशोरी मेला नेपालमै पहिलोपटक आयोजना गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका अन्तर्गत सामुदायिक र संस्थागत विद्यालयहरूमा अध्ययनरत ६ देखि १२ कक्षा सम्मका छात्रा विद्यार्थीहरूलाई लक्षित गरी मेला आयोजना गरिएको प्रशासकीय अधिकृत प्रदिप साहले बताए ।
मेलामा प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागि हुनेछन् । यस्तै विशिष्ट अतिथिका रूपमा कोशी प्रदेश सभाका महिला सांसदहरू तथा अतिथिहरूमा मोरङ जिल्लाका पालिका उपप्रमुखहरू सहभागि हुनेछन् ।

संगालोखबर 













