
विराटनगर । विराटनगरको कान्तिपुर कलेजले चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल राजनारायण महतोसहितका विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
आज एक कार्यक्रमको आयोजना गर्दै कलेजले एमबिबिएस प्रवेश परीक्षामा सफल बनेका तीन विद्यार्थीसहित वार्षिक परीक्षामा अब्बल अंक ल्याएका विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
एमबिबिएस प्रवेश परीक्षामा सामेल भएका १८ हजार परीक्षार्थीहरूमध्ये राजनारायणले ३९ औं नम्बरमा नाम निकाल्न सफल भएका थिए । कक्षा १२ को परीक्षामा नेपालकै सर्वोत्कृष्ट नतिजा ३.९६ जिपिए ल्याएका राजनारायणलाई कलेजले एक लाख एक हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ ।
सिरहाको मिर्चैया घर भएका राजनारायणका दाजु राजु महतोले पनि अघिल्लो वर्ष एमबिबिएसमा नाम निकालेका थिए । राजनारायणसहित यस कलेजबाट एमबिबिएसको प्रवेश परीक्षा उत्तीर्ण गरेका करुणाकुमारी साह र प्रिन्सन श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।
त्यसबाहेक कलेजले कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनअन्तर्गत वार्षिक परीक्षामा अब्बल अंक ल्याएका विद्यार्थीहरूलाई सम्मान गरेको छ । उत्कृष्ट ३१ जना विद्यार्थीलाई २१ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्ने कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए ।
यस्तै कलेजले विगत एक दशकयता कार्यालय सहयोगीका रूपमा कार्यरत सीता कार्कीलाई १५ हजार रुपैयाँ र सम्मानसहित बिदाइ गरेको छ । कान्तिपुरमा हाल करिब तीन हजार विद्यार्थीहरू अध्ययनरत छन् ।

संगालोखबर 













