
विराटनगर । मोरङ कारागारका एक थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरे नगरपालिका-४ का ५७ वर्षीय गंगा लिम्बु छन् ।
अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय मोरङले १० हजार धरौटी तोकेको थियो । उक्त रकम तिर्न नसकेपछि उनलाई गत भदौ ४ गते कारागार चलान गरिएको थियो । उनको मुद्दा विचाराधीन छ ।
मोरङ कारागारका सूचना अधिकारी तुलसी पौडेलका अनुसार सास फेर्न गाह्रो हुने र खुट्टा सुन्निने समस्या देखिएपछि लिम्बुलाई मंगलबार राति ८ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारका क्रममा आज बिहान १० बजेतिर मृत्यु भएको पौडेलले संगालोखबरलाई जानकारी दिए । उनलाई यसभन्दा अगाडि पनि एकपटक कोशी अस्पतालमा उपचारका लागि लगिएको पौडेलको भनाइ छ ।
‘उहाँका आफन्त हामीले पत्ता लगाउन सकेका छैनौ । इमरजेन्सीमा लैजाँदै आफन्तलाई खबर गर्ने गरिएको छ । तर उहाँका आफन्त पत्ता लागेको छैन’, उनले भने, ‘त्यहाँका जनप्रतिनिधिलाई हिजो नै जानकारी गराइसकेका छौँ । परिवार बारे जानकारी पुर्याइदिन भनेका छौँ ।’
उनको शव कोशी अस्पतालमै राखिएको छ । साउनयता मोरङ कारागारका ६ जना कैदीबन्दीको मृत्यु भइसकेको छ ।

संगालोखबर 













