संगालोखबर


विराटनगर । नेकपा एकीकृत समाजवादी विराटनगर महानगर कमिटी नेकपा एमालेमा समाहित भएको छ । आज विराटनगरमा भएको एमाले कोशी प्रदेश कमिटीको नवौँ पूर्ण बैठकमा ‘घर फर्क राष्ट्रिय अभियान’ अन्तर्गत नेकपा एसको सिंगो महानगर कमिटी एमालेमा समाहित भएको हो ।

विभिन्न समयमा पार्टी परित्याग गरि अन्य राजनीतिक दलमा गएका नेता-कार्यकर्तालाई पुनः पार्टीमा सक्रिय गराउने उद्देश्यले सञ्चालित घर फर्क राष्ट्रिय अभियान अन्तर्गत एसका नेता-कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले जानकारी दिए ।

Advertisement

घिमिरेले एसको विराटनगर महानगर कमिटी सहित कोशी प्रदेश कमिटी र मोरङ जिल्ला कमिटीका नेताहरू समेत पुनः एमालेमा समाहित भएको जानकारी दिए ।

एमालेमा समाहित भएका एसका कोशी प्रदेश कमिटी सचिवालय सदस्य डा उद्धव पोखरेलले एमाले आफूहरूको समेत रगत र पसिना परेको घर भएकोले केही समय घर बाहिर रहेपनि पुनः घरमा नै फर्किएको बताए ।

उनले आफूहरू केही समय पार्टीसँग रिसाएर पार्टी बाहिर रहेपनि पुनः नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारमा समाहित हुन पाउँदा खुसी लागेको उल्लेख गरे ।

पार्टीमा समाहित भएकालाई स्वागत गर्दै एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टीमा लामो समय खटेका नेताहरू पुनः पार्टीमा आउँदा पार्टीले उचित जिम्मेवारी दिने बताए । खतिवडाले अहिलेको परिदृश्यमा देशमा लोकतन्त्रलाई बलियो पार्न एमाले बाहेकको विकल्प नरहेको प्रष्ट पारे ।

घर फर्क अभियान अन्तर्गत एसको प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र सिंगो महानगर कमिटी गरेर झन्डै ८० भन्दा बढी नेताहरू एमालेमा समाहित भएको एमाले महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिए । गिरीले एमालेको केन्द्रीय महाधिवेशन अघि मोरङका अन्य पालिका कमिटी समेत एमालेमा समाहित बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!