
धनकुटा । नेकपा एमालेले धनकुटा बजारमा शनिवार वृहत जनप्रदर्शन गरेको छ । हजारौंको संख्यामा सडकमा उत्रिएका एमाले नेता कार्यकर्ताले बजारमा वृहत जुलुस प्रदर्शन गरेका हुन् ।
धनकुटा बसपार्कबाट सुरु भएको जुलुस बीचबजार, भीमनारायण चोक, बिहिबारे हटिया हुँदै पुनः बसपार्कमा आएर आमसभामा परिणत भएको थियो । जनप्रदर्शनका लागि गाउँ-गाउँबाट एमाले नेता कार्यकर्ताहरू आएका थिए ।
ब्यानर र झन्डासहित सडकमा उत्रिएका उनीहरूले ‘भदौ २४ गतेको घटनाका अपराधीहरूलाई कारबाही गर, असंवैधानिक रुपमा विघटन गरिएको संसद् पुनर्स्थापना गर’ लगायत नारा लगाउँदै बजारमा प्रदर्शन गरेका हुन् ।
बसपार्कमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असंवैधानिक रुपमा विघटन गरिएको संसद् पुनर्स्थापना गरिनुपर्नेमा जोड दिए ।
यो सरकार संविधान मास्न बनेको दावी गर्दै नेता कार्कीले वर्तमान सरकारले चुनाव चराउनै नचाहेको उल्लेख गरे । एमाले केन्द्रिय सदस्य राजेन्द्र राईले एमालेले जनताको पक्षमा काम गर्दा चौतर्फी घेराबन्दी गरिएको दावी गर्दै अब घेराबन्दी तोडेर एमाले अघि बढ्ने बताए ।
एमाले अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाल र एकीकृत समाजवादी छोडेर एमालेमा आएका नेता अर्जुन राईले अहिले एमालेको पक्षमा थप जनलहर बढेको दावी गरे ।
संविधान र लोकतन्त्रको रक्षा गर्दै संसद् पुनर्स्थापनाका लागि एमालेको देशव्यापी कार्यक्रम अन्तर्गत धनकुटामा पनि प्रदर्शन गरिएको हो । एमालेले कात्तिक २२ गते वडा भेला, २५ गते पालिका स्तरीय प्रदर्शन र शनिबार ७७ वटै जिल्लामा जिल्ला स्तरीय जनप्रदर्शन गरेको हो ।

संगालोखबर 













