
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईको कार्यकक्षमा गरिएको तालाबन्दी खोलिएको छ । नेकपा एमाले गाउँ सभा दलले विभिन्न माग राख्दै बुधबार अध्यक्ष राईको कार्यकक्षमा तालाबन्दी गरेको थियो ।
जनमतको आधारमा समन्वय, सहकार्य र सह-अस्तित्वको आधारमा स्थानीय सरकार सञ्चालन गरिनुपर्ने, बहुमत सदस्यको निर्णय कार्यान्वयन गरिनुपर्ने, विद्यालय कर्मचारी र ई.सि.डी. मा कार्यरत कर्मचारीको सरकारले वृद्धि गरेको तलब उपलब्ध गराउनुपर्ने लगायतका माग राखिएको छ ।
यस्तै आन्तरिक राजश्व संकलनलाई तत्काल व्यवस्थित गरिनुपर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत योजना तथा कार्यक्रमहरू तत्काल कार्यान्वयन गरिनुपर्ने, पालिकामा कार्यरत कर्मचारीहरूप्रतिको विभेद अन्य गरी चार जना कर्मचारीको स्तरवृद्धि गरिनुपर्ने लगायतका माग अघि सार्दै तालाबन्दी गरिएको जनाइएको छ ।
यस्तै योजना तथा कार्यक्रम संचालनमा तत्काल सरलता बनाइ योजना सम्झौता, अनुगमन तथा भुक्तानीमा कर्मचारीहरूबाट दुःख दिने कार्य बन्द गर्नुपर्ने र अस्थायी तथा करारका कर्मचारीलाई नहटाउन माग गर्दै ताला लगाइएको कार्यपालिका सदस्य तथा गाउँ सभा दलका नेता बालकृष्ण राईले बताए ।
‘तालाबन्दी पछि अध्यक्षले वार्तामा बस्ने वातावरण बनाउनुभयो, नेता राईले भने, ‘आगामी कार्यपालिका बैठकमा हामीले अघि सारेका माग सम्बोधन गरेर अघि बढ्ने कुरा भएको छ । ढिलोमा मंसिर १५ गतेसम्ममा कार्यपालिका बैठक बोलाउने सहमति भएपछि ताला खोलिएको छ ।’

संगालोखबर 













