
विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषि कार्यका विभिन्न उपकरण बनाएका छन् । एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने विभिन्न मेसिन र सिस्टम उपकरणहरू बनाएका हुन् ।
मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीन बर्षे डिप्लोमातर्फ अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरूले धान काट्ने, दाइँ गर्ने, मल र पानी छर्ने तथा जोत्ने लगायतका काम एउटै उपकरणबाट गर्न मिल्ने बनाएका हुन् ।
इलेक्ट्रिक इन्जिनियरिङतर्फका विद्यार्थीहरूको समुहले बनाएको उक्त स्मार्ट फार्मिङ मेसिनको रिमोटबाटै डेमो चलाएर प्रर्दशनी गरिएको छ । यसैगरी मनमोहनकै इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फका विद्यार्थीहरूले स्मार्ट सिटीका लागि सोलारबाट चल्ने पोडवे निर्माण गरेका छन् । सोही समुहका विद्यार्थीहरूले विषादी छर्ने मेसिन पनि बनाएका छन् ।
यस्तै सिभिलतर्फका विद्यार्थीहरूले भूकम्परहित पुरानो मोडलको घर, आधुनिक धर्मशाला, मिल्टप्रोपोज कम्प्लेक्स र व्यापारिक मल आदिका ७ वटा डेमो प्रर्दशनी गरेका थिए । आईटी विभागका विद्यार्थीहरूले सफ्टवेयरतर्फ पनि प्रदर्शन गरेका थिए ।
त्यसमा रक्तदान गर्न सहयोग पुर्याउने ब्लड डोनेसन पोर्टल, कर्मचारीको कार्य व्यवस्थापन प्रणाली, दर्ता चलानी प्रणाली, अनलाइन मार्फत व्यापार गर्न सकिने सजिलो मार्ट लगायतका सफ्टवेयरहरू प्रदर्शन गरेका थिए ।
मेकानिकलतर्फका विद्यार्थीहरूले घुमफिर गर्ने होचो अनलोड वोगी (कार), अटोमेटिक वासिङ मेसिन र अटोमेटिक राइस प्लान्टर आदि उपकरणहरूको डेमो प्रर्दशनी गरेका थिए । मनमोहन पोलिटेक्निकका तीन वर्षे डिप्लोमा पास आउट भएर जाने विद्यार्थीहरूले हरेक वर्ष आफूले बनाएका विभिन्न उपकरणहरू प्रर्दशनी गर्दै आएका छन् ।
विद्यार्थीहरूले बनाएका उपकरणहरूको व्यावसायिक प्रयोजनमा निजी र सरकारी क्षेत्रबाट चासो नहुँदा सबै गोदाममा थन्किने गरेको पोलिटेक्निकका प्राचार्य सुदीप अधिकारीले बताए ।

संगालोखबर 













