
विराटनगर । नेपाली काँग्रेसका युवा नेता डा. सुनिल शर्मालाई निर्वाचन क्षेत्रका जनताले नौमती बाजा, सांस्कृतिक झाँकी र फूलमाला सहित भव्य सम्मान गरेका छन् ।
मोरङको पथरीशनिश्चरे नगरपालिका-३ स्थित गोहीहोली खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्न पुगेका शर्मालाई सोमबार जनताले सम्मान गरेका हुन् ।

खोलामा पुल नहुँदा उक्त स्थानको जनजीवन लामो समयदेखि कष्टकर थियो । वर्षायाममा आवत-जावत जोखिमपूर्ण मात्र होइन, स्वास्थ्य उपचार, शिक्षा, व्यापार-व्यवसाय र दैनिक क्रियाकलापमै बाधा पर्दै आएको थियो ।
पिपल चोकलाई किराती चोकसँग जोड्ने सो पुल ७ करोड ८३ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने भएको छ । डा. शर्मा मोरङ क्षेत्र नम्बर ३ मात्र नभएर देशभर नै लोकप्रिय युवा नेताका रूपमा चिनिन थालेका छन् ।

सो अवसरमा मेयर मोहन तुम्बापोले नगरपालिकाले समन्वय, सहयोग र निगरानीमार्फत निर्माणलाई प्राथमिकतामा राख्ने बताए । प्रदेश सांसद गीता तिम्सिनाले पुल निर्माणले स्थानीय विकासको नयाँ अध्याय सुरु हुने उल्लेख गरिन् ।

संगालोखबर 













