विराटनगर । मोरङ जिल्ला अदालतको नक्कली परिचय पत्र बनाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरूमाथि सरकारी कार्यालयमा जागिर खुलेको विज्ञापन निकालेर दर्जनौं व्यक्तिमाथि ठगी गरेको आरोप छ ।

पक्राउ पर्नेमा सिराहाको लाहान घर भई विराटनगर-५ मा डेरा गरि बस्ने ५० वर्षीया पुनमदेवी साह र उनकी छोरी २७ वर्षीया कोमलकुमारी साह छन् । 

Advertisement

सासू आमाको नाममा बैंक खाता खोल्न लगाएर छोरी-ज्वाइँले ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । आमा-छोरी पक्राउ परेपनि ज्वाइँ फरार रहेकाले खोजी भइरहेको उनको भनाइ छ ।

‘अहिले चार जनाको जाहेरी लिएर अनुसन्धान अघि बढाएका छौं’, डीएसपी चुडालले संगालोखबरसँग भनिन्, ‘हाम्रो अनुमान अनुसार चार/पाँच सय जना नै ठगिनुभएको हुनसक्छ । थोरै-थोरै रकम धेरैजनासँग ठगेको अनुमान छ ।’

प्रहरीका अनुसार साहले पीडितलाई एसएमएसमार्फत धम्कीसमेत दिने गरेको खुलेको छ । उनीहरूले अदालतमा कार्यालय सहयोगीदेखि नायब सुब्बा पदसम्मका जागिर लगाइदिने भन्दै रकम असुल्दै आएको खुलेको छ ।

उनीहरूले २ हजार ५ सयदेखि ७ हजार ५ सय रुपैयाँसम्म रकम असुलेको पाइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको डीएसपी चुडालले जानकारी दिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!