संगालोखबर


धनकुटा । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ११ः४५ बजे धनकुटा नगरपालिका-३ निगालेमा प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा महालक्ष्मी-६ की ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी-९ का ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा धनकुटा-४ की ४५ वर्षीया दुर्गामाया तिम्सिना भट्टराई, मोरङको केराबारी गाउँपालिका-९ की ६० वर्षीया देवी न्यौपाने, धनकुटाको महालक्ष्मी-९ की ७५ वर्षीया तारादेवी काफ्ले, महालक्ष्मी-८ की १७ वर्षीया खुसी लुङ्गेली, मोरङको सुन्दरहरैँचा- की ८ वर्षीया अंकिता खड्का र महालक्ष्मी-७ की सृजना जिमी घाइते भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । धनकुटा प्रहरीका अनुसार उकालो बाटोमा टायर पड्किएर बस पल्टिएको हो । बसमा ३० जना यात्रु सवार थिए । बस पल्टिँदा अवरुद्ध भएको सडक १ः४० बजेबाट एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।

बस चालक सुनसरीको इटहरी-१७ बालग्रामका ५० वर्षीय कुलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको पनि बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!