
विराटनगर । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकारका १८ भवन पूर्णरूपमा क्षति भएका छन् । प्रदेश सरकार मातहतमा रहेका ४२ वटा भवनमध्ये २४ वटामा तोडफोड भइ आंशिक क्षति पुगेको छ ।
यस्तै प्रदेश सरकार मातहत रहेका २३७ वटा सवारी साधनमा क्षति पुगेको छ । जसमध्ये ७५ वटा चारपाङ्ग्रे सवारीसाधन मध्ये ६४ वटा पूर्णरूपमा क्षति भएका र ११ वटामा आंशिक क्षति पुगेको प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको भनाइ छ ।
यसैगरी १६१ वटा मोटरसाइकलमा क्षति पुगेको छ । तीमध्ये १४४ वटा पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १७ वटामा आंशिक क्षति पुगेको छ ।
घटनाको केही दिनपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् ।
अनुगमनपछि प्रदेश सरकारका सचिव तथा उच्च पदस्थ कर्मचारीहरूसँग छलफल गर्दै मुख्यमन्त्री कार्कीले घटनाले प्रदेशमा ठूलो क्षति पुगेको बताए । उनले कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन र दशैँअघि नै कार्यालय सञ्चालनको सम्पूर्ण व्यवस्थापन मिलाउन निर्देशन दिएका छन् ।

संगालोखबर 













