
सुनसरी । सुनसरीमा खोलाले मोटरसाइकल बगाउँदा एक जना बेपत्ता भएका छन् । बराहक्षेत्र नगरपालिका-१ स्थित दुधपानी खोलाले मोटरसाइकलसहित श्रीमान श्रीमतीलाई बगाएकोमा श्रीमान बेपत्ता भएका हुन् ।
खोलाले बगाउँदा सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी बेपत्ता भएका सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनकी श्रीमती २७ वर्षीय सिलु खड्गीलाई प्रहरीले उद्धार गरेको छ ।
उनको घरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डीएसपी खतिवडाले जानकारी दिए ।
काठमाडौंबाट धनकुटातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७३८ नम्बरको मोटरसाइकल शनिबार करिब ११ः५० बजे खोलाले बगाएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय चतरा तथा अस्थायी प्रहरी पोष्ट चतरा पुलको टोलीले बेपत्ता मनिषको खोजी गरिरहेको छ ।

संगालोखबर 













