
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवनबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय मुस्ताक मिया र वडा नम्बर ६ का बलराम यादव छन् ।
गाँजाको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मियाको घरमा खानतलासी गरेको थियो । सोही क्रममा तीन वटा प्लाष्टिकको बोरामा प्याक गरेर राखेको अवस्थामा ७८ किलो गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए ।
प्रहरीका अनुसार बलराम गाँजा ओसार-पसारमा संलग्न भएको पाइएको छ । प्रहरीले बलरामको घरछेउ पटेरको घारीमा लुकाएर राखेको अवस्थामा बीआर १० एक्यू ५५४२७ नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई गाँजा र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













