संगालोखबर


विराटनगर । कोशी प्रदेशमा २२ हजार बढी पशुमा ‘लम्पी स्किन’ संक्रमण भएको छ । यसको संक्रमणबाट ६ सय ३७ पशुको मृत्यु भएको छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशीका अनुसार २२ हजार एक सय २२ पशुहरू संक्रमित हुँदा ६ सय ३५ गाईगोरु तथा दुई वटा राँगाभैँसी मरेका हुन् ।

जेठको पहिलो साताबाट तीब्र रूपमा फैलिएको ‘लम्पी स्किन’ लामो समय सम्म प्रदेश १० जिल्लामा सीमित रहेको थियो भने गत हप्तादेखि तेह्रथुममा पनि देखापरेको निर्देशनालयले जनाएको छ ।

Advertisement

प्रदेशभरि २१ हजार आठ सय ९८ गाईगोरु तथा दुई सय २४ राँगाभैँसी  सङ्क्रमित भएका छन् । उक्त रोगबाट पछिल्लो एक हप्ताको अवधिमा एक हजार पाँच सय छ पशुमा संक्रमण पुष्टि भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । पछिल्लो हप्ता मात्रै ‘लम्पी स्किन’बाट ८१ वटा गाईगोरु र एउटा भैँसी मरेका छन् ।

‘लम्पी स्किन’को महामारीबाट सबैभन्दा बढी झापामा १४ हजार छ सय ९२ पशु सङ्क्रमित भएका छन् । यस्तै मोरङ, इलाम र सुनसरी जिल्लामा पनि यसको संक्रमण बढी छ । निर्देशनालयका अनुसार मोरङमा दुई हजार चार सय १९ गाईगोरु र १७ वटा भैँसी र राँगामा संक्रमण भएको छ ।

इलाममा दुई हजार ४२ गाईगोरु, सुनसरीमा एक हजार सात सय २६ गाईगोरु र ३१ वटा भैँसी र राँगा सङ्क्रमति भएका निर्देशनालयले जनाएको छ । अहिलेसम्म उदयपुरमा पाँच सय ४७, खोटाङमा चार सय २८, भोजपुरमा ९७, ताप्लेजुङमा ५४, पाँचथरमा १४, धनकुटामा ५० र तेह्रथुममा पाँच पशु सङ्क्रमित भएका छन् । कोशी प्रदेशको सोलुखुम्बु, ओखलढुङ्गा र सङ्खुवासभामा अहिलेसम्म यसको संक्रमण देखिएको छैन ।

यसको संक्रमणबाट झापामा सबैभन्दा बढी चार सय १० पशु मरेका छन् । यस्तै मोरङमा एक सय नौ, सुनसरीमा ६२ र इलाममा ३९ वटा पशु मरेका निर्देशनालयले जनाएको छ । ताप्लेजुङमा दुई, धनकुटा र खोटाङमा तीन/तीन र उदयपुरमा नौ पशु मरेका छन् भने पाँचथर तेह्रथुम र भोजपुर भने कुनै पनि पशु मरेका छैनन् ।

अहिलेसम्म रोग नियन्त्रणका लागि प्रभावित जिल्लाका तीन लाख २५ हजार ६२ गाईगोरु र राँगाभैंसी ‘लम्पी स्किन’ विरुद्धको निःशुल्क खोप लगाइएको निर्देशनालयले जनाएको छ ।

गर्मी बढेसँगै ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिने गरेको छ । यो रोग लामखुट्टे, भुसुना, झिंगा, किर्ना आदिको टोकाइबाट सर्ने पशु चिकित्सकहरूको भनाइ छ । यो रोग लाग्दा सुरुमा पशुको शरीरमा फोकाहरू निस्कने र पछि ती फोकाहरू फुटेर घाउ हुने गर्दछ । नेपालमा २०७७ साउनमा पहिलो पटक मोरङमा यसको संक्रमण देखा परेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!