बि.सं २०८२ वैशाख ९ गते मंगलबार ई.सं २०२५ अप्रिल २२ नेपाल सम्बत ११४५ चिल्लागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण नवमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शुभ योग, बणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ३५ मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ३२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुण खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको सुरुवात वा शुभ यात्रामा निस्कँदा आजका लागि शुभ समय बिहान ८ बजेर ४७ मिनेट देखि १० बजेर २५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व पृथ्वी दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
सानो प्रयासले रोकिएको काम बनाउन सकिने र लाभ पाउने दिन हो, तर कुनैकुनै काम केवल सिनियर्सको सन्तुष्टिका लागि गर्नुपर्ने हुन्छ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । परिश्रम र प्रयास गर्ने दिन हो, दृढ इच्छाशक्ति राख्नुपर्छ, नयाँ जिम्मेबारी वा दायित्व वहन गर्न पाइने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)–
जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिक-पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ । धार्मिक-सांस्कृतिक काममा खटेर जस पाउने समय छ । सीप र बुद्धि कौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ । विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्छन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)–
बढ्दो ऋणभार र खर्च बृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । पुराना समस्या बल्झिनाले वा कुनै गोप्य दस्ताबेज बाहिरिनाले तनाव बढ्नसक्ने दिन छ, त्यसैले सचेत र संयम भएर काम गर्नु ठीक हुन्छ । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
पदप्रतिष्ठामा बृद्धि हुनेछ, धनवैभव जुटाउने अनुकूलता मिल्नेछ, आफ्नो कुलघरान र खानदानको इज्जत बढाउने कुनै कार्यक्रममा सहयोग गर्न मन लाग्नेछ । सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य÷अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)–
जिद्दीपन र घमण्ड बढ्नेछ, गर्नुपर्ने काम वा जिम्मेबारीप्रति कुनै लगाव देखिंदैन, तर परीक्षामा खरो उत्रन अझ धेरै मिहिनेत गर्ने समय हो । लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । कामको बोझ बढ्नेछ, तथापि हरेक क्रियाकलापमा हतार गर्नुहुँदैन । जुनसुकै काममा प्रशासनिक समस्या र कानुनी पक्षबारे चिन्तन गर्नु ठीक हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)–
सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँके÷ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पद्र्धा वा परीक्षामा सफल भइने समय हो । बुद्धिको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पद्र्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
हाँकेताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । कुनै समस्या छ भने अभिभावकसँग प्रष्टसँग राख्ने प्रयास गर्नुहोला । घरबाहिर हुनुहुन्छ भने मन मिल्ने साथीलाई बताउनु ठीक हुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–
सहकर्मी वा मित्रको सहयोगबाट कुनै महत्त्वपूर्ण काम सम्पन्न हुनाले मन प्रसन्न रहने छ । बहुप्रतीक्षित आकाङ्क्षाले पूर्णता पाउने समय हो । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । लगनशील भएर काम गर्नसके पदप्रतिष्ठा, स्वाभिमान र सम्पत्ति फिर्ता आउनसक्छ, कुनै प्रशासनिक समस्या छ भने प्रयास गरेमा हल हुने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । तपाईंको आन्तरिक सामथ्र्य र तीक्ष्ण बुद्धिको प्रयोगले कुनै महत्त्वपूर्ण काम बन्ने समय छ । सन्तान वा भाइबहिनीको उन्नतिप्रगतिका लागि केही धनराशि खर्च गर्नुपर्ने हुन्छ । अठोट र निर्णयहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ, तर त्यसबाट पनि लाभ उठाउन सकिने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)–
आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो । अवसरको खोजी गर्ने दिन हो, अझ प्रतिष्ठित शैक्षिक संस्थान वा विदेशमा उच्च शिक्षा हासिल गर्न प्रयास गर्ने समय छ । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)–
हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । पठनपाठनमा ध्यान केन्द्रित हुँदैन, चित्तमा शान्ति होस् र मन स्थिर होस् भन्ने उद्देश्यले मेडिटेसन, योग र ध्यानतर्फ आकर्षित हुनुपर्छ । खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
मानसिक सन्तुष्टिको समय हो, तथापि आज कुनैकुनै कुरामा भावनामा वहन सक्नुहुन्छ । पार्टनरलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । मुख छुचो हुने दिन छ, देखेको कुरामा प्याच्च बोल्नु हुँदैन, नत्र बेकारको लफडा र तनावमा पर्न सक्नुहुन्छ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!