विराटनगर । वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा मोरङ प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत युरोप, अमेरिका, कुवेत, दुबईलगायतका देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
भारतको अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत-३ का २३ वर्षीय केशव यादव, मोरङको कटहरी गाउँपालिका-३ का २२ वर्षीय रोहित कुमार पासवान, विराटनगर-८ का २३ वर्षीय करण भनिने अमित राय, कटहरी-३ कै ३० वर्षीय बुद्धनारायण मलाह र मोरङको पथरी शनिश्चरे-५ का २५ वर्षीय बोधराज राजवंशी पक्राउ छन् ।
विराटनगर-११ का महेश कुमार चौधरी र उनका छोरा कुमार चौधरीलाई क्यानडा पठाउने भन्दै विभिन्न देशबाट खोलिएका ह्वाट्सएपबाट कल गरेर ६६ लाख ६७ हजार ठगी गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीका अनुसार उनीहरू विभिन्न स्थानबाट माघ ८ गते पक्राउ परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा यादवले पैसाको प्रलोभनमा पारेर अन्य अभियुक्तलाई समेत ई-सेवा, खल्ती तथा विभिन्न बैंकमा खाता खोल्न लगाएर कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थपेर थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।