![](https://sangalokhabar.com/wp-content/uploads/2025/01/bandakarta.jpg)
विराटनगर । पाथिभरा क्षेत्रमा माघ १२ गते ‘नो केबलकार’ पक्ष र सुरक्षाकर्मीबीच भएको झडपलाई लिएर पहिचान पक्षधरले मेची राजमार्ग र तमोर करिडोर बन्द गरेका छन् ।
आज बिहानैदेखि सडकमा निस्किएका बन्दकर्ताले सवारी साधन आवत-जावतमा रोक लगाएका छन् । केही बन्दकर्ताहरू धरान बन्द गर्दै तमोर करिडोरतर्फ लागेका छन् । तमोर कोरिडोर ताप्लेजुङदेखि पाँचथर र धनकुटाको मूलघाटसम्म पर्छ ।
मेची राजमार्ग ताप्लेजुङदेखि पाँचथरको फिदिम, इलाम र झापाको चारआलीसम्म पर्छ । मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, किरात याक्थुम चुम्लुङलगायतका सङ्घसंस्थाले केबलकार निर्माण कार्य तत्काल बन्द गर्नुपर्ने, घाइतेहरूको उपचार राज्यले गर्नुपर्ने, १२ गते पक्राउ परेका दुई जनालाई रिहा गर्नु पर्ने लगायतका माग राख्दै अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।
आन्दोलनकारीहरू राज्य आतङ्क बन्द गर, मुक्लुमलुङमा केबल कार चाहिँदैन, धर्ममा व्यापारिकरण बन्द गर, असक्षम गृहमन्त्री राजिनामा दे, चन्द्र ढकाल मुर्दावाद लगायतका नारा लगाउँदै बन्दमा सक्रिय भएका छन् । उनीहरू विभिन्न स्थानबाट समूहमा भेला भएर यातायात बन्द गराउँदै हिँडिरहेका छन् ।