विराटनगर । इटहरी उपमहानगरपालिकाका कर्मचारी आन्दोलित बनेका छन् । शुक्रबार उपमेयर सङ्गीता चौधरीसहित वडाध्यक्षहरू प्रशासन शाखा प्रमुख सञ्जीव खड्कामाथि आक्रामक ढङ्गबाट प्रस्तुत भएपछि कर्मचारी आन्दोलित भएका हुन् ।
आज केहीसमय आन्दोलन गरेर कर्मचारीहरू काममा फर्किएका थिए । प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहताका अनुसार जनप्रतिनिधिहरूले प्रशासन शाखा प्रमुखलाई थर्काएको विषयलाई लिएर कर्मचारीहरू आन्दोलित भएका छन् ।
‘जनप्रतिनिधिको व्यवहारले कर्मचारीहरूले आफूलाई अपमानित महसुस गरे’, मेहताले संगालोखबरसँग भने, ‘राजनीतिक द्वन्द्वको चपेटामा कर्मचारी परे । कर्मचारीले विज्ञप्ति जारी गरेका छन् ।’
कर्मचारीले ४८ घण्टाभित्र उचित सम्बोधन हुनुपर्यो भनेर कर्मचारीले विज्ञप्ति जारी गरेका उनले जानकारी दिए । उनीहरूले माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
विज्ञप्ति मेयर हेमकर्ण पौडेलले बुझेका छन् । उनीहरूले उपप्रमुखले लिखित आत्मालोचना गर्नुपर्ने र कर्मचारीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने उल्लेख गरेका छन् ।
मेहताका अनुसार विज्ञप्ति बुझाएपछि कर्मचारी काममा फर्किएका हुन् । प्रशासन शाखामा लगाएको ताला भने खुल्न बाँकी रहेको उनको भनाइ छ । प्रशासन शाखा प्रमुख खड्काले वडा कार्यालयहरूमा ‘सर्भर डाउन’ गरिदिएको उपप्रमुख चौधरी सहितका वडाध्यक्षहरूले आरोप लगाएका थिए ।
‘कुनैबेला आफैँ पनि सर्भर डाउन हुनसक्छ’, प्रमुख प्रशासकीय अधिकृत मेहताले भने, ‘उहाँहरूले आरोप लगाउनुभयो । मलाई थाहा हुनासाथ तत्कालै खोल्न लगाए । खुलिसकेपछि पनि उहाँहरूले विवाद गरेको रहेछ ।’