धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका लेगुवा स्थित राम बजारमा अनुगमन गरिएको छ । आज खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका कार्यालय प्रमुख आनन्द डङ्गोल नेतृत्वको टोलीले अनुगमन गरेको हो ।
किराना पसल, होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनमा म्याद नागेका खाद्य तथा पेय पदार्थ भेटिएको थिए । नौ हजार नौ सय ६४ रुपैयाँ बराबरको म्याद नाघेको पेय पदार्थ तथा चाउचाउ जफत गरि नष्ट गरिएको छ ।
व्यवसायीहरूलाई खाद्य तथा पेय पदार्थको लेबल हेरेर खरिद बिक्री गर्न, भान्सा सफा राख्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन, खाद्य सामाग्री र अखाद्य सामाग्री छुट्टा-छुट्टै ठाउँमा राख्न अनुगमन टोलीले निर्देशन दिएको छ ।
खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयसहित जिल्ला प्रशासन कार्यालय प्रमुख, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख, लेगुवा प्रहरी चौकी, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका प्रतिनिधिको उपस्थितिमा अनुगमन गरिएको थियो । टोलीले तीन किराना पसलसहित १३ वटा होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको थियो ।