विराटनगर । विराटनगरमा अधिकांश रात्रिकालीन व्यवसाय मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ । रात्रिकालीन सञ्चालन हुने होटल, गीत-गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई बुझाएको प्रतिवेदनमा यस्तो पाइएको हो ।
अनुगमनका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर-२ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख सरोज गौतमलगायतको उपस्थितिमा मेयर कोइरालालाई समितिले प्रतिवेदन बुझाएको हो ।
रात्रिकालीन व्यवसायले विकृति सिर्जना गर्नुका साथै ध्वनि प्रदूषण बढेको भन्दै गुनासो आएपछि महानगरले अनुगमन समिति गठन गरेको थियो । समितिले २२ वटा रात्रिकालीन होटल, गीत-गजल, दोहोरी साँझ र रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदन तयार पारेको हो ।
अनुगमन गरेमध्ये १२ वटाले ध्वनि प्रदूषण गरेको पाइएको छ । अन्य १० वटाले ध्वनि प्रदूषण नियन्त्रणका उपायहरू अपनाएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार १३ वटाले कर्मचारीलाई परिचयपत्रको व्यवस्थापन नगरेको र १८ वटाले पोशाकको व्यवस्थापन नगरेको प्रतिवेदनमा जनाइएको छ ।
यसैगरी १७ वटाले सुरक्षा गार्ड नराखेको, चार वटाले आवासको व्यवस्थापन नगरेको र अनुगमन गरिएका सबैमा आगलागी नियन्त्रण गर्ने उपकरण नराखेको पाइएको छ ।
अनुगमन गरेका सबैमा सिसी क्यामेरा भने जडान गरिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार केही सिसी क्यामेरा भने मर्मत गर्नुपर्ने अवस्था देखिएको छ ।
व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा रहेको पनि देखिएको प्रतिवेदनमा औंल्याइएको छ । अनुगमन गरेका २२ वटा रात्रिकालीन होटल व्यवसायमा तीन १९ जनाले प्रत्यक्ष रोजगारी पाएको मेयर कोइरालालाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
अनुगमनका क्रममा कमजोरी भेटिएका व्यवसायीलाई महानगरले सुधार गर्न पत्रसमेत पठाइसकेको छ । गत पुस ४ गते मेयर कोइरालाको अध्यक्षतामा बसेको व्यवसायीसहितको सरोकारवालाहरूको बैठकले महानगर प्रहरीका निरीक्षक राजन पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो ।
समितिमा महानगरको राजस्व शाखाका कर्मचारी बासुदेव भण्डारी, रात्रिकालीन होटल व्यवसायी सङ्घका अध्यक्ष सुरज श्रेष्ठ, होटल व्यवसायी बविता चौधरी र नारायण तिम्सिना सदस्य रहेका थिए ।