विराटनगर । विराटनगरमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्री घाइते भएका छन् । आज दिउँसो तीन बजे विराटनगर-९ शनिमन्दिर छेउमा ट्रकले साइकलयात्रीलाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट मोरङको कटहरी गाउँपालिका-४ का मधुसुदन सिंहका १५ वर्षीय छोरा सितारामको दाहिने खुट्टा भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए ।
उनको अवस्था सामान्य रहेको र कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । महेन्द्रचोकबाट बरगाछी तर्फ आउँदै गरेको आर जे १९ जी इ ६१०० जी नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्करदिएको लम्सालले संगालोखबरलाई जानकारी दिए ।
ट्रक चालक भारतका राजस्थान जोतपुरका ३८ वर्षीय याकुप खानलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।