विराटनगर । कोशी प्रदेश सरकारले माघमा गर्ने भनेको लगानी सम्मेलन बैशाखमा सरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बैशाख १८ र १९ गते लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । यसअघि माघ ११, १२ र १३ गते लगानी सम्मेलन हुने जनाइएको थियो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले परियोजनाहरूको सोकेसिङ, कानुनको संशोधन लगायतका लागि समय अभाव भएकाले सम्मेलन सार्ने निर्णय गरिएको जानकारी दिए ।
कतिपय कानुन र नीति संशोधनका लागि केन्द्रीय सरकारको समेत सहयोग आवश्यक परेकाले लगानी सम्मेलन सार्ने निर्णय भएको उनको भनाइ थियो ।
एक खर्बको लगानी भित्र्याउने गरी लगानी सम्मेलनको तयारी गरिरहेको भण्डारीले बताए । लगानी सम्मेलनका लागि विभिन्न समितिहरू र सचिवालय समेत गठन भइसकेको छ ।