संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगरको इष्टर्न स्टार होटलमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । भारतको बिहार पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत फेला परेका हुन् ।

बुधबार सियाराम नामक कपडा कम्पनीमा काम गर्ने समूह विराटनगरमा ‘रिफ्रेसमेन्ट’ का लागि विराटनगर आएको थियो । मोरङ प्रहरीका अनुसार साह पनि सोही कम्पनीमा काम गर्थे ।

Advertisement

होटलमा बेलुका कक्टेल डिनरसहितको कार्यक्रम भएको थियो । सोही क्रममा साहले बढी मदिरा सेवन गरेका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीले बताए ।

‘कम्पनीले टिमलाई नै रिफ्रेसमेन्टका लागि नेपाल ल्याएको रहेछ’, डीएसपी जोशीले संगालोखबरसँग भने, ‘सबैजना कक्टेल डिनर गर्ने भनेर आएका रहेछन् । मृतकले अलिक बढी रक्सी खाएको पाइयो ।’

डीएसपी जोशीका अनुसार कार्यक्रम पछि उनीहरूलाई सोही होटलमा सुत्ने व्यवस्था मिलाइएको थियो । डिनरपछि उनका साथीले कोठामा पुर्‍याएर खाटमा सुताए पनि खाटमा सुत्न नमानेको खुल्न आएको उनको भनाइ छ ।

‘त्यसपछि सजिलो हुन्छ होला भनेर साथीहरूले भुईँमा नै सुताइदिएछन्’, जोशीले भने, ‘अरु आफ्नै कोठामा सुत्न गएछन् । बिहान हेर्दा नाक र मुखबाट रगत आएको अवस्थामा मृत भेटिए ।’

उसकै कोठामा अर्को एक जना मान्छे पनि सुतेको खुलेको जोशीले जानकारी दिए । सोधखोज गरिरहेको र यो विषयमा आफूलाई केही थाहा नभएको उसले बताएको डीएसपी जोशीको भनाइ छ ।

अहिले मृतकका आफन्त आउने क्रममा रहेको उनले बताए । मृतकका आफन्त आइसकेपछि कानुनी प्रक्रिया पुरा गरेर होटलबाट शव पोष्टमार्टमका लागि लगिने उनले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!